काठमाण्डु – नेकपा मओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी मुख्यालय, पेरिसडाँडमा बस्ने बैठकको एजेन्डा बुधवार नै तय गरिएको थियो।
शुक्रबार बिहान ११ बजे बैठकमा विशेष महाधिवेशनलगायत विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘विशेष महाधिवेशनलगायत विषयमा छलफल हुन सक्छ। यो–यो विषयमा छलफल हुन्छ भनेर भन्न त सकिँदैन,’ पौडलले भने।
उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेलगायतका विषयमा छलफल हुनेछ ।
साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र संगठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन्।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ।
बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
पछिल्लो समय माओवादीमा भित्र विवाद बढ्दै गएको छ। पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेका छन्।
शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्नेमा जोड दिएका छन्।
पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज पनि उठाउन थालिएको छ।
अध्यक्ष पुष्पकमल दाहालसँग अन्तरसंघर्ष चर्काउँदै लगेका कारण शर्मालाई कारबाही गर्नुपर्ने आवाज संस्थापन पक्षबाट उठेको हो ।
शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण गर्नुपर्ने, नेतृत्व हस्तान्तरण हुनुपर्ने, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएका छन्।




प्रतिक्रिया