उपनिर्वाचनका लागि दल दर्ताको आह्वान (तालिकासहित)

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान (तालिकासहित)

साउन २१ देखि २७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो। आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ।

आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ। असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ।

रुपन्देही क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएकाले सो क्षेत्रमा जनप्रतिनिधि रिक्त रहेको हो । रिक्त पदपूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।