काठमाण्डु– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीहरूको शेयर अभौतिकीकरण प्रक्रिया अन्तर्गत दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजिन) राख्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएको छ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले प्रवर्द्धक र सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै आइजिन नम्बर कायम गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा लगेको विषयमा इप्पानले अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र सीडीएससीको ध्यानाकर्षण गराएको हो।
इप्पानको दाबी छ, ‘उक्त प्रस्तावले संस्थापक तथा निजी लगानीकर्ता, विदेशी लगानीकर्ता र सर्वसाधारण लगानीकर्तामा अन्योल सिर्जना गरेर निराशा फैलाउने खतरा छ।’संस्थाले थप उल्लेख गरेको छ, ‘यदि प्रस्ताव कार्यान्वयनमा आयो भने यो प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यासको विरुद्धमा जान्छ। त्यसले नेपालको पुँजीबजारमा दीर्घकालीन नकारात्मक असर पार्नेछ।’
इप्पानले दोहोरो आइजिनको व्यवस्था वैदेशिक तथा स्वदेशी लगानी, गैरआवासीय नेपाली समुदायमार्फतको लगानी तथा उत्पादनमूलक क्षेत्रहरू जस्तै ऊर्जा, पर्यटन, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्रत्यक्ष असर पार्ने जनाएको छ।
संस्थाका अध्यक्ष गणेश कार्कीका अनुसार, ‘हाल संस्थापक र साधारण शेयर एउटै आइजिनमा रहँदा बजार चलायमान छ। तर छुट्टाछुट्टै आइजिन राख्दा कारोबार सङ्कुचित भई सरकारको आम्दानीसमेत घट्नेछ।’
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले दोहोरो आइजिनको प्रस्तावले ऊर्जा क्षेत्रमा लगानी गर्ने लाखौँ लगानीकर्तालाई प्रत्यक्ष असर पार्ने बताए। उनले भने, “२८ हजार ५०० मेगावाट ऊर्जा उत्पादनको सरकारी लक्ष्य नै यो प्रस्तावले असफल बनाउने खतरा छ।”
महासचिव बलराम खतिवडाको भनाइमा, दोहोरो आइजिनको व्यवस्था लागू भएमा आइपिओ जारी गरिसकेका, लकिङ अवधि सकिन लागेका वा प्रक्रिया अन्तर्गत रहेका कम्पनीहरूले पुँजी संकलन गर्न कठिन हुने र यसले समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ।
इप्पानका अनुसार, यो प्रस्ताव कार्यान्वयनमा आए ५८ उद्योगको ८७ अर्ब रुपैयाँ, ४७ ऊर्जा कम्पनीको ५३ अर्ब रुपैयाँ र आइपिओ पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पुँजी बन्धक हुने खतरा छ।




प्रतिक्रिया