बहुविवाहविरुद्ध चेतावनी : ‘मेरो शव उठाउन अनसनस्थल माइतीघर आउनू’

बहुविवाहविरुद्ध चेतावनी : ‘मेरो शव उठाउन अनसनस्थल माइतीघर आउनू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो शव अनसनस्थलबाटै उठाउनुपर्ने चेतावनी दिएकी छन् ।

शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए शव माइतघरबाटै उठाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सरकारको प्रस्तावमा तयार भइरहेको बहुविवाह सम्बन्धी कानून पारित भयो भने यहाँबाट मेरो लास उठ्छ । जबसम्म यो खारेज हुँदैन, तबसम्म म यहाँबाट उठ्दिनँ । सक्नुहुन्छ भने भ्रष्टाचारको नीतिमा कडाइ गर्नु तर यो खालको कानून मान्य हुँदैन । जसले मानसिक रूपमा महिलालाई पीडा दिन्छ र हिंसा भड्काउँछ त्यो मान्य हुँदैन । हाल मस्यौदा तयार भएको कानून भनेको ठूलो अपराध निम्ताउने बाटो हो, यसलाई रोक्नुपर्छ । यो लडाइँ मेरो मात्र होइन, मेरो लागि मात्र म बसेको होइन । यसबारे सबैले आवाज उठाउनुपर्छ ।’

उनले कानूनले हिंसा मात्र होइन, आत्महत्याको घटना पनि बढाउने भन्दै त्यसको जिम्मेवारी कानून मन्त्रालय अर्थात् कानून बनाउन अग्रसरता लिने सचिवले लिनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यो कानूनले हिंसा मात्र होइन, आत्महत्याको घटनालाई बढाउँछ । आफ्ना श्रीमानलाई अर्को केटीसँग बसेको हेर्न नसकेर कतिले आत्महत्या पनि गर्न सक्छन् । त्यसको जिम्मेवारी कानून मन्त्रालयका सचिवले लिनुहुन्छ । त्यो सचिवलाई त म के भन्न चाहन्छु भने नीति, नियम र कानून ल्याउनुभएको छ, यो तपाईं आफ्नो छोरीमा पहिला लागू गर्नु अनि मात्र पारित गर्नुहोला । तपाईंको परिवारमा यस्तो कानून स्वीकार्य हुन्छ भने मात्र पारित गर्नु । एउटा कुर्सीमा बसेर जनतालाई आफ्नो प्रयोगशाला बनाउन पाइँदैन ।’

यस्तो कानूनले सबैभन्दा बढी असर विकट ठाउँमा रहेका दिदीबहिनीलाई गर्ने पनि उनको भनाइ छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको बहुविवाह सम्बन्धी नयाँ मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँगको सम्बन्धबाट बच्चा जन्माएमा वा गर्भ रहेमा उक्त सम्बन्धलाई दोस्रो विवाहको रूपमा कानूनी मान्यता दिने गरी मुलुकी संहिताको धारा १७५ संशोधन गर्ने प्रस्ताव गरिएको छ ।

यही प्रावधानले महिलामाथि थप अन्याय हुने र बहुविवाहलाई प्रोत्साहन गर्ने भन्दै यादव अनसनमा बसेकी हुन् । सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी छुट दिने गरी कानूनको मस्यौदा तयार गरेको भन्दै त्यसको विरोध सुरु भएको छ । यादव आफू परिवार र श्रीमान्बाट पीडित भएको बताउँदै आएकी छन् ।