काठमाण्डु – श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलंकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।
श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीच साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलंकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठी जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ ।
दुवै देशका चेम्बर प्रतिनिधिहरूबीच २ पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा २ पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ ।
साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।
द्विपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।
खासगरी नेपाल र श्रीलंकामा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्नका लागि २ देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया