सत्ता सञ्चालकहरू फासिज्मतिर उन्मुख छन् : विप्लव

सत्ता सञ्चालकहरू फासिज्मतिर उन्मुख छन् : विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी क्रान्तिका लागि व्यापक ध्रुवीकरण आवश्यक भएको बताएका छन् ।

आईतबार काठमाण्डुमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक बहसबाट विमुख भइरहेको सन्दर्भमा यी २ पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे ।

विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरू गहन अध्ययनका साथ आएको बताउँदै पुस्तक खासगरी युवा लगायत आन्दोलनमा रहेकाहरूले अनिवार्य पढ्नुपर्ने बताए ।  विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरू फासिज्मतिर उन्मुख भएको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठन विना क्रान्ति सम्भव नभएको बताए ।

कट्टेलले सार्वजनिकीकरण गरिएका २ पुस्तकले त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको बताए । उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एकआपसका विरोधी विचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए ।

कम्युनिस्ट जनवाद पुस्तकका लेखक भट्टले उत्पादन प्रणाली परिवर्तन विना व्यवस्था परिवर्तन नहुने बताए । उनले भने, ‘नेपालमा आजसम्म भएको परिवर्तनले उत्पादन प्रणाली बदल्न नसक्नु र राजनीतिक सम्बन्ध मात्रै बदलिएकाले हरेक संघर्ष मात्रात्मक परिवर्तनमा गएर टुंगियो र गुणमा परिवर्तन गर्न सकेन, जसका कारण समाजमा दिशाहिनता र विकृति मौलायो ।’

कम्युनिस्ट समाजवादका लेखक खेम थपलियाले आज आन्दोलन विभिन्न समाजवादी सिरामा विभाजित भएको सन्दर्भमा पुस्तकले सही मार्गदर्शन गर्ने बताए ।

भूँडीपूराण प्रकाशनका प्रबन्ध निर्देशक केशव प्रसाद पराजुलीले पछिल्लो समयमा राजनीतिक दलका नेता कार्यकर्ताहरूले पुस्तक पढ्न छाडेको बताए । यी २ वटा महत्वपूर्ण पुस्तक भने सबैले पढ्न आग्रह गरेका छन् ।

टिप्पणीकर्ताद्वय रामबहादुर बुढा र कृष्ण वाग्ले ‘रुपेस’ले कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद आपसमा विरोधी विचार नभएको बताए । उनीहरूले पछिल्लो समयमा यी विचारहरूलाई एकआपसमा विरोधीको जस्तो व्यवहार गरिएको बताए । समाज विकास जहिले पनि श्रृंखलामा हुने पनि बताए । यी पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका भ्रमहरूलाई सच्याउन र अगाडि बढ्न सघाउ पुग्ने विश्वास गरे ।

कार्यक्रममा नेकपाका उपाध्यक्ष आरबी भण्डारी, डा. भगवानचन्द्र ज्ञवाली, अर्थशास्त्री प्रा.डा. केशवराज खड्का, इच्छुक संस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहट्ठा, सरला रेग्मी लगायतका नेताहरूको उपस्थिति थियो ।