२१ सय स्वास्थ्यकर्मी थप्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव, अर्थमन्त्री सकारात्मक

२१ सय स्वास्थ्यकर्मी थप्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव, अर्थमन्त्री सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सन्दर्भमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच छलफल भएको छ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा सेवा विस्तार र विशिष्टकृत उपचार सेवा प्रभावकारी बनाउन २ हजार १ सय जना डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी थप गर्ने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ७ वटै प्रदेशमा स्वास्थ्य सेवा पहुँचलाई सुदृढ गर्न जनशक्ति अभाव मुख्य चुनौती भएको उल्लेख गर्दै, थप कर्मचारीको खाँचो औँल्याए।

अर्थमन्त्री पौडेलले पनि दक्ष र पर्याप्त जनशक्ति स्वास्थ्य सेवा छिटो, गुणस्तरीय र सर्वसुलभ बनाउने प्रमुख आधार भएको बताएका छन्। उनले उक्त प्रस्तावमा थप परामर्श गरेर व्यवस्थित रूपमा अघि बढ्ने आश्वासन दिएका छन्।

छलफलमा स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा योजना, बालबालिकालाई दिइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा निर्माण हुने वीर अस्पतालको डिपीआर, तथा जलनसम्बन्धी उपचार सेवाहरू लगायतका विविध विषयमा समेत गहन विमर्श गरिएको थियो।