पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैन : महासचिव बास्तोला

पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैन : महासचिव बास्तोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिने समेत जानकारी दिए ।

पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरूमा गम्भीर समस्या देखिन थालेको बताए ।

उनले भने, ‘संसदवादी दलहरू सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।’

उनले लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमा विकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको बताए ।

बास्तोलाले अमेरिका लगायतले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोप लगाउँदै भने, ‘यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ । त्यसैले उसकाविरुद्ध उत्पीडित जनता र राष्ट्रहरूले प्रतिवाद गर्न जरुरी भएको छ । साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानवसंहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ ।’