काठमाण्डु – सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीश अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।
अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानिनोक्सानी गरेको पुष्टि गरेको छ । अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि साउन २९ गते पेशी तोकेको छ ।
प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसूर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ ।
अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा सम्पूर्ण आय र व्यय मूल्यांकन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएकाले दोषी ठहर गरेको छ ।
थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणित भएकाले उनलाई १ वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर गरिएको छ । सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने फैसला अदालतले गरेको छ ।




प्रतिक्रिया