काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् ।
शनिबार आयोजित नेपाली कांग्रेसको १६औं महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् ।
उनले भने, ‘हाम्रा पूर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौं भने समस्या त्यहीँनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छौं ।’
नेपाली कांग्रेस सधैं वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले पार्टीको महिमा बढाउने बताए ।
‘नेपाली कांग्रेस सधैं वर्तमानमा छ । विगतको मात्रै इतिहास रटेर हुँदैन भन्ने भाष्यमा म सहमत छैन । २००७ सालमा हामी त्यसकै वर्तमानमा थियौं, ३० वर्ष निरंकुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौं । ०६२/६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियौं र आज पनि आजैको वर्तमानमा छौं तर पार्टीको फाउन्डेसन बिर्सिनुभयो भने गति पाउनुहुन्न । तपाईं र अहिले जन्मिएको पार्टी र नेपाली कांग्रेस पार्टीको अन्तर के हो भन्न सक्नुपर्छ,’ उनले भने ।
नेता सिटौलाले एकीकृत केन्द्रित एकात्मक निरंकुश सामन्ती व्यवस्था फाल्न सफल भए पनि एकात्मक निरंकुश सामन्ती संस्कारको अन्त्य गर्न नसकेको बताए ।




प्रतिक्रिया