भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने छन् ।

भारतीय विदेश मन्त्रालयले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्न विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको जनाएको छ। भारत र नेपालबीच बलियो तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको पनि जनाएको छ।

‘मिस्रीको आसन्न भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र समग्र द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ’ मन्त्रालयले भनेको छ ।

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने कार्यतालिका छ तर यसबारेमा नेपाल र भारतले औपचारिक जानकारी दिएको छैन । तर दुवै पक्षले प्रधानमन्त्री शाहको भारत भ्रमणको आन्तरिक तयारी भने गरिरहेको छ ।

प्रधानमन्त्रीसँग भेटवार्तापश्चात द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तोकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।

यसैबीच मिस्रीको भ्रमणको अघिल्लो दिन नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाण्डुमा आइपुगेका छन्। उनले बुधबारदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।

भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो।