काठमाण्डु – नेकपा एमालेको राजनीतिमा संस्थापन पक्षबाट बहिष्कृत भएको पक्षले मदन भण्डारी फाउन्डेसनलाई आधार बनाएर गतिविधि गर्ने गरेको इतिहास छ । कुनै बेला एमालेभित्र संस्थापन पक्षसँग अन्तर्संघर्ष चर्किंदा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनकै सहारा लिनुपरेको थियो ।
फाउन्डेसनले वैचारिक बहस, विभिन्न दिवस र प्रतियोगिता आयोजना गरेर राजनीतिक गतिविधिमा नेताहरूलाई स्थान दिने गर्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा गर्न पनि मदन भण्डारी फाउन्डेसनको मञ्च नै रोजिन् ।
जननेता मदन भण्डारीको ७४औं जन्म जयन्तीका अवसरमा असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्याले एमालेको सदस्यता नवीकरण गरेकोदेखि सक्रिय राजनीतिमा आएको घोषणा गरिन् । मदन र विद्याकी छोरी उषाकिरण भण्डारी फाउन्डेसनकी अध्यक्ष छन् ।
हालै एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने र सक्रिय राजनीतिमा आउने नदिने निर्णय गरेपछि अध्यक्ष उषाकिरणले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेकी थिइन् । केही दिनअघि उनले पार्टीको विदेश विभाग सदस्य पदबाट पनि राजीनामा गरिसकेकी छन् ।
यी घटनाक्रमबीच सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फाउन्डेसनका पदाधिकारीका नाममा शंसयपूर्ण अभिव्यक्ति दिएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई च्यासलमा सम्बोधन गर्दै उनले भने, ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, त्यो आफैं बनाएको हो अर्को ढंगले । मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जलि दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुपर्यो । पार्टीप्रति आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन । यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो । त्यो पार्टीको पक्षमा र आन्दोलनको नै बनेको संस्था हो । तर त्यसको आगामी दिनमा के हुन्छ, कसरी अगाडि जान्छ हेर्नुपर्ने अवस्था बनेको छ । पदाधिकारीहरूका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा त्यो कसरी जाने हो भन्ने अन्योल छ ।’
फाउन्डेसनप्रति सार्वजनिक असन्तुष्टि नै व्यक्त हुने अभिव्यक्ति दिएकै बेला उनले भने, ‘पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ । साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ । नेताहरूको नाममा बनाइएका प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपार्टी हुनुहुन्न । नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ, सामूहिक संस्था हुनुपर्छ ।’
एमाले संस्थापनले विद्यालाई रोक्ने, विद्याले फाउन्डेसनमार्फत गतिविधि गर्न खोजेपछि अध्यक्ष ओलीले सोमबार फाउन्डेसनलाई नै निशाना बनाएका छन् । तैपनि फाउन्डेसनले आफ्ना गतिविधिलाई कार्ययोजना नै बनाएर अगाडि बढाउँदैछ ।
फाउन्डेसनले यस वर्ष मदन भण्डारीको हिरक जयन्ती मनाउँदैछ । त्यसका लागि भदौ १ गते हिरक जयन्तीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राखिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको स्रोतले जनाएको छ ।
‘जननेता मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य, सांसदहरू समेतलाई निमन्त्रणा गरिएको छ ।




प्रतिक्रिया