काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आगामी नीति तथा नियमहरू आधुनिक पुस्ताको आवश्यकताअनुसार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार पार्टीको युवा विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अर्यालले अघिल्लो पुस्ताभन्दा पनि नयाँ पुस्तालाई लक्षित गरेर दीर्घकालीन योजनासहितको नीति निर्माण गर्नुपर्ने बताए।
उनले भने, “बित्दै गएको म र मेरो पुस्ताका लागि होइन, आगामी पुस्ताको लागि हामीले नीति बनाउनुपर्छ। संघीयता र नयाँ संविधान कार्यान्वयनको मार्गचित्र कोर्दा देश निर्माणका लागि कम्तीमा ५० वर्षको बौद्धिक योजना तयार गर्नुपर्छ।”
अर्यालका अनुसार, यस्तै स्पष्ट र दीर्घकालीन योजनाले मात्र युवापुस्तालाई देशमै टिकाउन सक्नेछ। उनले राजनीतिक वृत्तमा युवाको भूमिकालाई अपरिहार्य भन्दै, सदनको हालको कार्यशैलीले स्वदेश तथा विदेश दुवैतर्फबाट ध्यान आकर्षित गरेको उल्लेख गरे।
यद्यपि उनले रास्वपाको लोकप्रियतालाई अन्तिम सत्यका रूपमा नलिन आग्रह गर्दै भने, “यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ भन्ने होइन।”
राजनीतिमा प्रवेश गर्न चाहनेहरूलाई भने उनले व्यक्तिगत दृढता र आत्मविश्वासको आधारमा मात्र निर्णय गर्न सुझाव दिए।




प्रतिक्रिया