प्रधानमन्त्री ओली सेनाको विमानबाट सोझै बोधगया जाने, यसरी हुँदैछ भारत भ्रमणको तयारी

प्रधानमन्त्री ओली सेनाको विमानबाट सोझै बोधगया जाने, यसरी हुँदैछ भारत भ्रमणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव बिक्रम मिश्री आईतबार काठमाण्डु आएका छन् ।

उनले आईतबारै प्रधानमन्त्री ओलीसहित भ्रमणको तयारीमा संलग्न पदाधिकारीहरूसँग छलफल गरेका छन् । नेपाली पक्षसँगको छलफलपछि विदेश सचिव मिश्री सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारत फर्किंदैछन् ।

यसपालिको प्रधानमन्त्री ओलीको भारत भ्रमण राजधानी नयाँदिल्लीमा नभई भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्रस्थल बिहारमा बोधगयामा हुने भएको छ । काठमाण्डुबाट नेपाली सेनाको विमानबाट ओली सोझै बोधगया जानेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत बोधगयामै आउनेछन् । ओली नेतृत्वको प्रतिनिधिमण्डललाई बोधगया लैजान नेपाली सेनाले अनुमति प्रक्रिया अगाडि बढाइसकेको स्रोतले जनाएको छ । प्रधानमन्त्री मोदी र ओलीबिच १६ सेप्टेम्बरका दिन बोधगयामा भेटवार्ता हुनेछ । भेटका लागि भारतीय विदेशमन्त्री एस. जयशंकर बोधगया पुग्ने भारतीय स्रोतले जनाएको छ ।

आईतबार काठमाण्डु आएका भारतीय विदेश सचिव मिश्रीले ओलीको भ्रमण १५–१७ सेप्टेम्बरसम्म गर्न औपचारिक प्रस्ताव गर्दै निमन्त्रणा दिएका स्रोतले जनाएको छ ।

यसैबिच प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि ओली र मोदीबिच चीनमा भेट हुन लागेको छ । प्रधानमन्त्री ओली अगस्ट ३१ मा शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने र त्यहाँ मोदीसँग भेट हुनेछ । यसअघि ओली र मोदीबिच बैंकक र न्युयोर्कमा भेटवार्ता भएको थियो ।

ओली प्रधानमन्त्री बनेको १४ महिनापछि हुने लागेको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।