काठमाण्डु – एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
बैंकले सार्वजनिक गरेको पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सकिनेछ ।
ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशनमा समावेश क्युआर कोड स्क्यान गरी पोर्टलभित्र प्रवेश गर्न सक्नेछन् । पोर्टलमार्फत कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा साथै गूगल म्यापमार्फत स्थान पहिचान गर्ने सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ ।
खरिद गर्न चाहिने सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही विवरण भएको पेजमा उपलब्ध म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सोधपुछ गर्ने सुविधा समेत गरिएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूका साथै लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू समेत प्रकाशित गरिनेछन् ।
बैंकले पोर्टलमार्फत इच्छुक ग्राहकले सजिलै सम्पूर्ण विवरण बुझ्न सक्ने र प्रत्यक्ष लाभ लिन सक्ने विश्वास लिएको छ ।




प्रतिक्रिया