प्रचण्डले देखाए ‘राजनेताको छवि’ : पार्टीदेखि संसदसम्म सहकार्य र सहमतिको खोजी 

प्रचण्डले देखाए ‘राजनेताको छवि’ : पार्टीदेखि संसदसम्म सहकार्य र सहमतिको खोजी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार बिहान पार्टीको स्थायी कमिटी बैठक र अपराह्न संसद बैठकमा सम्बोधन गरे ।

दुवै सम्बोधनमा प्रचण्डले एउटै खोजी गरे – मिलन बिन्दू र सहमति । देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सबैले हातेमालो गर्नुपर्ने र साझा मुद्दामा एकजुट हुनुपर्नेमा प्रचण्डले जोड दिए ।

आन्तरिक कहल मिलाउने प्रयास

पार्टीभित्र बढेको असन्तुष्टिबीच नेकपाको स्थायी कमिटी बैठक जारी छ । उत्तरार्धमा पुगेको बैठकमा बुधबार प्रचण्डले सम्बोधन गरे । बैठकमा बोल्ने वक्ताहरूका कारण पार्टी नेतृत्व र सरकार आलोचित हुनुपरेको छ । तर प्रचण्डले आफ्नो आलोचना गर्नेहरूलाई नै चकित पार्ने गरी मिलेर जानुपर्ने आशय व्यक्त गरेका छन् ।

स्थायी कमिटी बैठकमा आफूले पेश गरेको प्रतिवेदनमाथि उठेका सवालबारे बोल्दै प्रचण्डले प्रतिवेदनमा सबैका कुरा समेट्न संशोधन गर्न सकिने भन्दै मध्यमार्गी बाटो रोजे । जसले गर्दा नेकपाभित्र देखिएको असन्तुष्टि समाधान हुने भएको छ । स्थायी कमिटी बैठकमा अब अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु बाँकी छ ।

बैठकमा झण्डै २ घण्टा बोलेका प्रचण्डले थुप्रै कुरा गरे । जसमा केही विशेष व्यवहारिक कुरा थिए । पार्टीमा सर्वमतको सम्मान गर्न कार्यदल बनाउने र कार्यदलले नै प्रस्ताव तयार गरेर स्थायी कमिटीमार्फत् एकता टुंग्याउने प्रस्ताव गरेका छन् । कार्यदलमा असन्तुष्ट सबै पक्षलाई समेटिने छ । जसले गर्दा पार्टीको आन्तरिक असन्तुष्टि हल हुनेछ ।

आन्तरिक बैठकमा प्रचण्डको बोली

“बैठकमा छलफल र बहस राम्रो भएको छ । यसले पार्टी एकतालाई गम्भीर बनाउन र सरकारलाई सफल बनाउन योगदान पुर्याउँछ भन्ने विश्वास गरेको छु । यद्यपि छलफल गर्दा पूर्वएमाले भित्रको विवादमा छलफल केन्द्रीत भएजस्तो र पूर्वमाओवादी केन्द्रका नेताहरू छलफलमा आफूलाई पूरै प्रस्तुत गर्न हिच्किचाए जस्तो, रक्षात्मक भए जस्तो कहिलेकाहीँ अनुभूति हुन्थ्यो । तर पनि समग्रमा बैठकको छलफल अत्यन्तै राम्रो भयो । यसले ऐतिहासिक रुपमा पार्टी एकतालाई बलियो बनाउने र पार्टी राजनीतिलाई सही दिशातिर लैजान योगदान गर्नेमा विश्वस्त छु । 

हामीले मुख्यरुपमा अहिले केही विषयमा ध्यान दिनुपर्छ । अहिलेको राजनीतिक परिवर्तनको प्रकृति, चरित्र त्यसको आयातन के हो भन्ने विषयमा अब गम्भीर छलफल हुनुपर्ने हो कि ? यो विषयमा एकत्व नभएको हो कि भन्ने मलाई लाग्यो । यो परिवर्तन मात्रात्मक परिवर्तन हो वा गुणात्मक परिवर्तन हो ? मलाई लाग्छ, यो परिवर्तन गुणात्मक परिवर्तन नै हो । 

यो परिवर्तनले हाम्रो विचार, राजनीति र पार्टी एकताको कार्यभारलाई पनि गुणात्मक ढंगले अगाडि बढाउन दिशानिर्देश गर्छ । मात्रामा बुझियो भने हिजोको जोड घटाउमा मात्रै हामी जान्छौं । त्यसकारण यो गुणात्मक हो भन्ने बुझाइ मेरो छ । हाम्रो पार्टीको विचार, राजनीति र एकता किन आवश्यक पर्यो भन्नलाई पनि त्यसरुपमा बुझ्नुपर्छ । 

यसमा गम्भीर छलफल नभई पार्टी एकता सुदृढ हुँदैन । मलाई के विश्वास छ भने साविकको एमाले र माओवादी केन्द्र पनि यो परिवर्तन गुणात्मक हो भन्ने कुरामा समझदारी भएर नै पार्टी एकता भएको हो भन्ने सबैको बुझाइ छ । तर अहिले पछाडि फर्केर बहस जान थाल्यो कि भन्ने मलाई चिन्ता छ । पुरानै मेरो कुरा सही हो भन्ने ढंगले छलफल गर्यौं भने सही दिशामा लैजाँदैन र अन्तरसंघर्ष पनि अस्वस्थ हुने दिशातिर जान्छ । त्यसकारण यही कुरामा हाम्रो एकता हुनुपर्छ । 

राजनीतिक प्रतिवेदनमा जति पनि आलोचना र टिप्पणी भएका छन्, सही आलोचना र टिप्पणीलाई आत्मसाथ गरेर परिमार्जित प्रतिवेदन तयार गर्नुपर्छ । त्यसले नै अहिलेको आवश्यकता र पार्टी एकतालाई सुदृढ गर्छ । 

हामी जनयुद्धकालमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्थ्यौं । अन्तिममा पार्टीले नै बन्दुक चलाउने हो भन्ने मान्यतामा बिज हुन्थ्यौं । अहिलेको बन्दुक भनेको सरकार हो । त्यसकारण पार्टीले सरकार चलाउने हो भन्ने सैद्धान्तिक मान्यता मै अगाडि बढ्नुपर्छ । 

त्यसैले सरकारलाई सहयोग गर्नुपर्छ । सरकारले पनि सामूहिक वा पार्टीभित्रको छलफलको आधारमा महत्त्वपूर्ण नीति र अरु निर्णय गर्नुपर्छ । त्यसो भए मात्रै सरकार पनि सफल हुन्छ । 

सांगठनिक एकीकरणको निर्णय यही बैठकबाट गर्नुपर्छ भनेर धेरै कमरेडहरूले भन्नुभयो, म पनि त्यसैमा आए । यही बैठकले निर्णय गर्नुपर्छ भन्ने कुरा ठीक छ । स्थायी कमिटीबाटै कार्यदल बनाउँ, त्यही कार्यदलले प्रतिवेदन परिमार्जन गर्न सुझाव दिन्छ । त्यही कार्यदलले सांगठनिक एकीकरणको गृहकार्य गरेर सुझाव दिन्छ । त्यसपछि स्थायी कमिटीमा ल्याएर छलफल गरेर पारित गरिदिने । यसो गर्दा धेरै कमरेडहरूको धारणा समेटिन्छ ।”

संसदमा प्रचण्डको प्रस्तुती

बुधबारदेखि शुरू भएको संसदको हिउँदे अधिवेशनमा राजनीतिक दलको तर्फबाट बोल्ने क्रममा प्रचण्डले सत्तापक्ष र प्रतिपक्षको मिलन बिन्दू खोजे । संसदमा बोल्दै उनले नेकपाको स्थायी कमिटी बैठक र प्रतिपक्षी कांग्रेसको महासमिति बैठक एकै समयमा हुनु राम्रो भएको बताए ।

दुवै बैठकमा संविधानको कार्यान्वयन र विकास निर्माणबारे साझा छलफल हुनु पनि राम्रो भएको भन्दै प्रचण्डले दुवै बैठकका साझा मुद्दाबारे संसदलाई जानकारी गराएर देशहितमा सत्तापक्ष र प्रतिपक्षलाई एकजुट गर्ने प्रयास गरे । प्रचण्डको राष्ट्रहितको प्रयासलाई बुझ्न नसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधनको अधिकांश समय सरकारको आलोचनामै खर्चिए ।

प्रचण्डले संविधान कार्यान्वयका लागि आवश्यक पर्ने कैयौ ऐन बनाउनुपर्ने गहन जिम्मेवारी सदनलाई रहेको बताउँदै प्रभावकारी र सहयोगी भूमिका निर्वाह गर्न प्रतिपक्षी दललाई आग्रह गरे । संसदमा प्रचण्डले बोलेका अभिव्यक्तिमा सहकार्यको अभिव्यक्ति झल्किन्थ्यो ।

विगतमा सत्तापक्ष र प्रतिपक्षी दलले धेरै अप्ठ्यारा चिर्दै अधिकतम् राष्ट्रिय सहमति कायम गरेर अघि बढेको बताउँदै प्रचण्डले आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । संविधान कार्यान्वय गर्ने सवालमा पनि सबै मिलेर निर्वाचन सम्पन्न गरेको उनले सम्झिए ।

संविधानका उपलब्धी शिशु अवस्थामा नै रहेको बताउँदै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षी मिलेर प्राप्त उपलब्धीको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । संसदलाई आरोप–प्रत्यारोपको थलो नबनाई सहमति गरेर अगाडि बढ्नुपर्ने प्रचण्डले आग्रह गरेका छन् ।