बालबालिकालाई खुवाउन थालियो ‘सुन भएको औषधि’

बालबालिकालाई खुवाउन थालियो ‘सुन भएको औषधि’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि विकासका लागि सरकारले स्वर्णप्राशन आयुर्वेदिक थोपा खुवाउने अभियान सुरु गरेको छ ।

बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन बिहीबारदेखि स्वर्णप्राशन खुवाउन सुरु गरेको हो ।

वैकल्पिक चिकित्सा विभागका अनुसार यो आर्थिक वर्षसँगै देशभरका २१ जिल्लाका २५ ठाउँबाट शुरू गरिएको स्वर्णप्राशन आयुर्वेदिक कार्यक्रम आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू गरिनेछ ।

यो कार्यक्रम २१ जिल्लामा लागू गर्नुअघि चालू आर्थिक वर्षमा ३ वटा जिल्लाहरू दाङ, चितवन र पर्सामा नमूना कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । ती जिल्लाका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएकाले कार्यक्रम देशव्यापी सञ्चालन गर्ने लक्ष्यका साथ यो वर्षदेखि लागू भएको हो ।

बालबालिकाको प्रतिरोधात्मक क्षमता विकासका निम्ति आयुर्वेदिक चिकित्सा पद्धतिअनुसार यो औषधि उत्पादन गरिएको हो ।

के हो स्वर्णप्राशन ?

स्वर्णप्राशनअन्तर्गत ‘स्वर्णभस्म’लाई घ्यु र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइन्छ ।

आयुर्वेदिक रसशास्त्री डा. शारदा खनालका अनुसार झन्डै ५ हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा वर्णन गरिएअनुसार सुनको भष्मलाई घ्यु र महमा मिसाएर बनाएको लेहलाई थोपा स्वरूप खुवाउने विधि नै स्वर्णविन्दु प्राशन हो ।

स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्त्व हो । मह र घ्यु समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भएपनि महको दोब्बर घिउको मात्रा मिलाएर खाँदा आयुर्वेदअनुसार स्वस्थकर मानिन्छ ।

स्वर्णविन्दु प्राशन नेपालका लागि नयाँ भने होइन । नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा थियो ।

परम्परागत रूपमा प्रयोग हुँदै आएको स्वर्णविन्दु प्राशन नेपाल, भारतलगायतका अन्य देशहरूले पनि प्रयोग गरेर वैज्ञानिक पुष्टिसमेत भइसकेको छ ।

स्वर्णभस्म बनाउन सुनलाई बालिन्छ । सुन बाल्ने विशिष्ट विधिप्रक्रिया छ । सुनको पातलो तह निकालेर शुद्धीकरण गरिन्छ र त्यपछि विभिन्न औषधीय द्रव्यहरूको प्रयोग गरेर आगोमा हालेर बनाइन्छ ।

आधुनिक रासायनिक परीक्षणमा स्वर्णभस्ममा सुन प्रायशः धातुकै स्वरूपमा रहने र सुनको कणको आकार ३० न्यानोमिटरजति हुन्छ ।

आयुर्वेदिक शास्त्रीय विधिअन्तर्गत यो थोपा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।

शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर देशभरिका २५ वटा आयुर्वेदिक केन्द्रहरूबाट महिनैपिच्छे औषधि निःशुल्क वितरण गरिने छ ।

यो औषधिको सेवनबाट सामान्य रुघाखोकी, ज्वरोजस्ता रोगहरूबाट जोगिने प्रतिरोधी क्षमता विकास गराउँछ । साथै यसले बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउँछ ।

आयुर्वेदिक रसशास्त्री खनालका अनुसार यसले बालबालिकाका निम्ति ‘इम्यून बूस्टर’ वा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने औषधिका रूपमा परम्परागत रूपमै प्रयोग गरिँदै आएको छ ।

‘आयु बढाउन, पाचनप्रणालीमा सघाउन तथा प्रतिरोधी क्षमता बढाउन यसको प्रयोग हुन्छ,’ उनले भनिन् ।

विभिन्न शोध र अध्ययनहरूले यसको प्रयोगले बालबालिकामा कुनै प्रकारको हानिकारक दुष्प्रभाव भने देखिएको छैन । यसमा सुन वा महको परिमाण एकदमै न्यून हुने गरेकाले यसमा टक्सिसिटी (विषाक्तता) नहुने पाइएको छ ।

कति दिनमा खाने ?

यो औषधि हरेक महिनाको पुष्य नक्षत्रका दिन खानुपर्छ । आयुर्वेदिक रसशास्त्री डा. खनालका अनुसार स्वर्णभस्मयुक्त औषधि बालबालिकालाई प्रत्येक २८ दिनमा पर्न आउने पुष्य नक्षत्रमा सेवन गराउने शास्त्रीय मान्यता छ । पूर्वीय ज्योतिषशास्त्र र आयुर्वेदले पुष्य नक्षत्रलाई उर्वरता र पोषणसँग सम्बन्धित मानेको छ । यो नक्षत्र कर्कट राशिमा पर्छ ।