भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

शनिबार लौनचौरस्थित भारतीय दूतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सधैं कूटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरे पनि त्यो खालको पहलकदमी नगरेको आरोप लगाए ।

सरकार यसमा गम्भीर बन्नुका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाइ छ । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरीय समिति पनि बने तापनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको उनी बताउँछन् ।

उनले भने, ‘हाम्रो सरकारले कूटनीतिक पहल गर्ने कुरा त छँदैछ तर सधैं कूटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाहिँ गरिँदैन । पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ । भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’

भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रशस्त प्रमाणहरू रहेको उनले बताए । यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय स्वाधिनताको रक्षा गर, लिपुलेक हाम्रो हो, नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर, भारतीय सेना कालापानी, छोड, छोड, छोड, कालापानी छोड, नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अबिलम्व खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।