पूर्वाग्रहलाई थाँती राखी देश र जनताको सुरक्षामा लाग्न सशस्त्रका आईजीपी अर्यालको निर्देशन

पूर्वाग्रहलाई थाँती राखी देश र जनताको सुरक्षामा लाग्न सशस्त्रका आईजीपी अर्यालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाँती राख्दै देश र जनताको सुरक्षामा कमाण्डर र नेतृत्वसँग हातेमालो गरी देश र संगठनको साझा लक्ष्यकासाथ अघि बढ्न र कर्तव्य पथमा अविचलित भई लाग्न निर्देशन दिएका छन् ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं वार्षिकोत्सव कार्यक्रममा महानिरीक्षक अर्यालले सरकारले सशस्त्र प्रहरीलाई राज्यको सीमामा पहरेदार बनाएर पठाएको हुनाले त्यसको पूर्ण रूपमा पालना गर्नुपर्ने बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरूले आफ्नो स्थापना दिवस मनाउँदा सशस्त्र प्रहरी कर्मचारीहरूमा हर्ष, उर्जा र व्यावसायिक ढंगले कार्यक्षेत्रमा काम गर्न प्रेरणा मिलेको बताए ।

आईजीपी अर्यालले राजमार्ग सुरक्षा तथा विपद्मा परेका आमनागरिकको उद्धार र सहयोग लगायतका विभिन्न सुरक्षा जिम्मेवारीहरूमा सकल दर्जाको प्रभावकारी परिचालन हुँदा त्यसको परिणाम संगठनले प्राप्त गरेको ख्यातीको श्रेय फिल्डमा खटिने सबै सशस्त्र प्रहरी कर्मचारीमा जाने हुँदा अझ बढी व्यावसायिक रूपमा इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिति अनुरूपको निर्णय क्षमता राख्नुपर्ने बताए ।

कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूले बर्दीको ईज्जत राख्दै आमजनता र नागरिकहरूको मन जितेर काम गर्नुपर्ने बताउँदै उनले भने, ‘व्यक्तिको प्रयासले मात्र संगठन र राष्ट्र बन्दैन, यसमा सबैको त्याग, लगाव र प्रतिबद्धताको भावना चाहिन्छ ।’

असीमित आवश्यकता र सीमित साधनस्रोत बिचको सामन्जस्याताबाट सांगठनिक उद्देश्य प्राप्तितर्फ अगाडि बढ्नु आजको आवश्यकता रहेको चर्चा गर्दै उनले संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरूले सामूहिक भावनाका साथ व्यक्तिगत स्वार्थ र समस्यालाई गौण मानेर जनताको सेवा र सुरक्षा जस्तो पवित्र जिम्मेवारीमा लाग्नुपर्ने बताए ।

आईजीपी अर्यालले संगठनले हरेक सशस्त्र प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा प्रदर्शन गर्ने आर्थिक अनुशासन तथा पेशागत इमान्दारिताको पाटोलाई सुक्ष्म ढंगले नियालिरहेको हुनाले यस कुरालाई मनन् गरी जिम्मेवारी क्षेत्रहरूमा परिचालन हुँदा कसैको मोलाहिजा तथा लोभमा नफसी कार्यसम्पादन गर्न निर्देशन     दिए ।

कार्यक्रममा आईजीपी अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वर्षभर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा महानुभाव र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरेका छन् । सोही अवसरमा महानिरीक्षक अर्यालले बाहिनी मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप रेग्मीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनीय रहेको बताउँदै विपद्को बेला अग्रपंक्तिमा रहेर देश र जनताको सेवा र सुरक्षामा कटिबद्ध भई लागेको तथा आगामी दिनहरूमा समेत अझै बढी सशक्त भएर लाग्ने विश्वास व्यक्त गरेका छन् ।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङले सशस्त्र प्रहरी बल नेपालको स्थापना एउटा फरक र जटिल अवस्थामा भएको बताउँदै आन्तरिक सुरक्षा, सीमा सुरक्षा लगायत विपद् प्रकोपमा परेकाहरूको उद्धारमा सशस्त्र प्रहरी बल नेपालको भूमिका प्रशंसनीय रहेको समेत चर्चा गरे ।

कार्यक्रममा नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवरले धन्यवाद ज्ञापनको क्रममा सुरक्षालाई प्राथमिकतामा राख्दै सीमा हुने अवैध चोरीनिकासी पैठारी तथा ओसारपसारलाई निरुत्साहित र नियन्त्रण गर्न कुनै कसर बाँकी नराखेको बताउँदै अवैध हातहतियार, आगूऔषध ओसारपसार नियन्त्रण कार्यलाई सामुदायिक स्तरसम्म पुग्ने गरी अभियान सञ्चालन गर्दै आइरहेको बताए ।

उनले खुल्ला सीमा, भौगोलिक अवस्था, मिश्रित बसोबास र संरक्षित क्षेत्रहरूका कारण हुनसक्ने नविनतम् घटनाहरूलाई मध्यनजर गर्दै सम्पूर्ण सरोकारवाला निकाय तथा सुरक्षा निकायहरूसँग समन्वय गरी एकीकृत सुरक्षा रणनीतिको योजनाहरू बनाई निरन्तर तथा नियमित कार्यसम्पादन गर्दै आइरहेको बताए ।

कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, विजय गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट लगायत स्थानीय भद्रभलादमी, विभिन्न संघसंस्थाका महानुभाव, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति थियो ।