हैजाको प्रकोपपछि वीरगञ्जमा विद्यालय बन्द, खानेपानीमन्त्री यादवले गरे अस्पतालको निरीक्षण

हैजाको प्रकोपपछि वीरगञ्जमा विद्यालय बन्द, खानेपानीमन्त्री यादवले गरे अस्पतालको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएपछि विद्यालय बन्द गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएका हुन् ।

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ती मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलका हुन् । शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएको हो ।

वीरगञ्जको विभिन्न स्थानका हालसम्म दश जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको सङ्क्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ ।

शाखाका प्रमुख राजु साहले शुक्रबारदेखि झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको बताए । झाडापखालाको उपचार गरिरहेका दुई जनाको मृत्यु भएको पनि हैजा कै कारण भएको हुनसक्ने आशङ्का गरिएको उनको भनाइ छ ।

अहिले झाडापखालाका कारण वीरगञ्जको विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन् ।
यसैबिच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।

सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

यसबीच खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुगेका छन् ।

वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै नारायणी अस्पताल, तराई हास्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालहरूमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्षरूपमा जानकारी लिएको मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपायहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको समेत जानकारी दिए ।