जसपाले सरकारबाट मन्त्रीलाई फिर्ता बोलायो

जसपाले सरकारबाट मन्त्रीलाई फिर्ता बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको छ ।

अशोक राई नेतृत्वको जसपाले सरकारमा सहभागि आफ्नो दुई मन्त्रीहरूलाई भदौ ११ गतेभित्र पनि राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको पदाधिकारी बैठकले अहिले सरकारमा रहेका खानेपानी मन्त्री प्रदीप यादव र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर सुडीलाई फिर्ता बोलाउन निर्णय गरेको वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए ।

उनीहरूको ठाउँमा पार्टीले वीरेन्द्र महतो र रञ्जु ठाकुरलाई पठाउँदैछ । महतो खानेपानी मन्त्री बन्ने छन् भने ठाकुर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नेछिन् ।

मन्त्रीहरू यादव र सुडीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा महतो र ठाकुरको नाम सिफारिश गरिएको छ । सिफारिस गरिएको नाम प्रधानमन्त्री समक्ष पठाइएको छ ।

सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाइएकोले अहिले सरकारमा भएका मन्त्रीहरूलाई राजीनामा दिन अध्यक्ष अशोक राईले निर्देशन दिएका छन् । दुवै मन्त्रीलाई भदौ ११ गतेभित्रै राजीनामा दिन राईको निर्देशन छ । बस्नेतले भने, ‘अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय भएको छ ।’

उनले एक वर्षको कार्यकाल रहनेगरी मन्त्रीहरूलाई सरकारमा पठाइएको बताए । ‘अहिले हामीले पार्टीका तर्फबाट मन्त्रीहरुको नयाँ नाम सिफारिस गरेका छौं । हामीले प्रधानमन्त्रीज्यूसमक्ष नाम पेश गरिसकेका छौं । पुराना मन्त्रीहरूलाई फिर्ता गराएर नयाँ मन्त्री बनाउने भन्ने निर्णय भएको छ,’ बस्नेतले भने ।