काठमाण्डु – नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा विभिन्न संगठित संस्थाहरूको शेयर बिक्रीवितरण गरिरहेको भन्दै आम लगानीकर्तालाई सचेत गराएको छ ।
केही व्यक्तिहरूले सामाजिक सञ्जाल (ह्वाट्सएप, भाइबर, फेसबूक समूह), इमेल र एसएमएसमार्फत कम्पनीको शेयर निकट भविष्यमा सार्वजनिक निष्कासन हुने भन्दै सर्वसाधारणलाई प्रि–आईपीओ शेयर खरिद गर्न आग्रह गरी अनाधिकृत रूपमा पैसा उठाउने गतिविधि सञ्चालन गरेको गुनासोपछि बोर्डले त्यसो नगर्न आग्रह गरेको हो ।
बोर्डले गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता कार्य तत्कालै रोक्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । बोर्डका अनुसार विद्यमान कानूनमा प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था छैन । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २९ को उपदफा (१) अनुसार कुनै पनि संगठित संस्थाले सर्वसाधारणसँग शेयर बिक्री/वितरण गर्नुभन्दा अघि अनिवार्य रूपमा धितोपत्र बोर्डको अनुमतिपत्र लिनुपर्ने प्रावधान रहेको छ ।
यसरी अनाधिकृत रूपमा शेयर बिक्री वितरण गर्न खोज्ने व्यक्तिहरूविरुद्ध ऐनअनुसार कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।
बोर्डले लगानीकर्तालाई पनि यस्तो भ्रममा नपरी धितोपत्र खरिद/बिक्री गर्दा आधिकारिक स्रोत र बोर्डको अनुमति प्राप्त संस्थामार्फत मात्र कारोबार गर्न अनुरोध गरेको छ । अन्यथा ठगी वा आर्थिक क्षतिको जोखिम व्यहोर्नुपर्ने परिस्थितिमा पर्न सक्ने भएकाले सचेत रहन सबैलाई अपिल गरिएको छ ।





प्रतिक्रिया