काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ १४ गते शनिबारदेखि भदौ १८ गतेसम्म हुने भ्रमणका क्रममा नेपाल–भारत–चीन त्रिपक्षीय छलफल गराउन चीनले प्रयास गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले त्रिपक्षीय छलफल गराउन खोजेको छ । हालै भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सहमति गरेपछि नेपालले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङसँग लिपुलेकबारे छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका बेला चीनले सामूहिक छलफलको प्रयास थालेको हो । चीनले त्रिपक्षीय छलफलको प्रयास थाले पनि छलफलको एजेन्डा भने तय नगरिसकेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले त्यसै बेलामा लिपुलेकलाई एजेन्डामा समावेश गर्नसक्ने मौका पाउने भएका छन् ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन जान लागेका छन् । चीनमा रहँदा उनी जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवको स्मृति समारोहमा समेत भाग लिनेछन् ।
भदौ १७ गते प्रधानमन्त्री ओलीले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसैक्रममा उनले शिखर सम्मेलनमा भाग लिने केही विश्व नेताहरूसँग भेटघाट समेत गर्नेछन् । प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा २३ जना सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रोटोकल डिभिजनका सहसचिव कुमार खरेल र उत्तर पूर्व एसिया डिभिजनका सहसचिव भृगु ढुंगाना सहितका उच्च अधिकृतहरूसहित २३ जना रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई सांघाई सहयोग संगठन (एससीओ) को पर्यवेक्षक राष्ट्रका रूपमा अघि सार्न प्रस्ताव गर्ने भएका छन् । हाल नेपाल एससीओको संवाद साझेदार राष्ट्र हो । यसपालि नेपाल पर्यवेक्षक राष्ट्र बनेमा भविष्यमा एससीओको सदस्य राष्ट्र बन्ने ढोका खुल्नेछ ।




प्रतिक्रिया