काठमाण्डु – कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा काठमाण्डु केन्द्रित आन्दोलन जारी छ ।
व्यवसायीहरू सबैभन्दा बढी काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग आक्रोशित देखिन्छन् ।
व्यवसायीहरू भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न ठाउँमा परिक्रममा गर्ने गरेका छन् । उनीहरू कमलादीस्थित महानगरको कार्यालय पुगेर नियमित धर्ना समेत दिइरहेका छन् । महानगरले विगत २ वर्षदेखि आफूहरूमाथि अन्यायपूर्ण ज्यादती गरेको भन्दै प्रदर्शन जारी राखेका हुन् ।
प्रदर्शनकारीहरूले महानगरपालिकाले बिना कारण कुटपिट गर्ने, सामान जफत गर्ने र कवाड संकलन केन्द्रका संरचना भत्काउने जस्ता कार्य गर्दै आएको आरोप लगाएका छन् ।
महानगरको यस्तो कदमले आफ्नो व्यवसाय र जीवनयापन नै संकटमा परेको उनीहरूको गुनासो छ । उनीहरूले महानगरको निरन्तर ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् ।
कवाडी व्यवसायी संघर्ष समितिका अध्यक्ष राम केवल गुप्ताले खाने भाँडो वा रोजगार बचाउन, संविधानले दिएको अधिकार खोज्न र रोजीरोटी खोस्नेविरुद्ध सडकमा उत्रिनुपर्ने बताए । आन्दोलन सुरु गरेको २ वर्ष पूरा हुँदा पनि माग पूरा नभएको बताए ।
देशमा गरीब र श्रमिक वा मजदुरको लागि बोलिदिने कोही नभएको भन्दै भोटको लागि मात्र मजदुरहरूलाई प्रयोग गरेको उनले बताए । गरीबले २ वर्षदेखि दु:ख पाउँदा मेयर बालेन लुकेर बसेको उनले बताए ।
‘राजु पाण्डेले थर्काउँदा सबै चुप छन् । देशमा गरीब र श्रमिक मजदुरको लागि बोलिदिने कोही भएन । भोटका लागि मात्र मजदुरहरूलाई प्रयोग गरिरहेका छन् । हिजोको दिनमा बालेनले पनि गरीबको बोलिदिने कोही छैन भन्दै चमेलीको तेल लाएर भोट ठग्यो । आजको दिनमा गरीबले २ वर्षदेखि दु:ख पाउँदा उहाँ कहाँ लुकेर बसिरहेका छन् ?’ उनले भने ।
‘महानगर प्रहरीले डोजर लगाउँछ, व्यापारीलाई कुट्छ, १०० जना मान्छे अंगभंग भइसकेका छन् । सयौंको उठिबास लगाइएको छ,’ उनले भने, ‘अहिले देशमा रोजगार नभएको बेला र कवाडी व्यवसायीका कारण रोजगार पाएको बेला थप प्रोत्साहित गर्नुको साटो महानगरले झनै बिगार्दै लगेको छ ।’
कवाडी व्यवसाय हटाउने कुरा कसैको मिलोमतोमा नभई राजु पाण्डे र बालेन शाहले गर्न लगाएको उनले आरोप लगाए । बालेनले कवाडी व्यवसायीलाई १ अर्बमा बेचिदिएको र हाल १५ करोड रुपैयाँ लिइसकेको आरोप समेत लगाए ।
कवाडी व्यवसायीका कारण असुरक्षा बढेको भए वार्ताको आह्वान गर्नुपर्ने उनले बताए । उनले समस्याबारे बुझेर समाधान गर्नतर्फ लाग्नुपर्ने सुझाव समेत दिए ।
‘बालेन आउनुभन्दा अगाडि केही पनि समस्या थिएन । उहाँ आएपछि यस क्षेत्रमा पैसा देखेर समस्या पनि सँगै देख्नुभएको होला तर त्यसको समाधान पनि देख्नुपर्ने थियो,’ उनले भने, ‘असुरक्षा बढेको, चोरीका घटना बढेको हो भने त हामी पटक–पटक वार्ताको लागि तयार छौं । बालेन आउनुभन्दा पहिला केही पनि समस्या थिएन । बालेन आएपछि यहाँ पैसा देखियो, अनि समस्या पनि देखियो । कसैको प्राइभेट जग्गा लिएर व्यवसाय गरिरहेका छौं । त्यहाँ हिजो समस्या थिएन भने आज किन समस्या भएको छ ? यसबारे अरुलाई समस्या छैन । राजु पाण्डे र बालेनलाई मात्रै किन समस्या भइरहेको छ ?’
कवाडी व्यवसायी केशव शाहले महानगरले कमाउन र गरिखान नदिएको भन्दै कमाएर खाने अवसर पाउनुपर्ने माग गरे । उनले कवाडी व्यवसायीका लागि केन्द्रीय सरकारले कुनै पहल नगरेको बताए ।
‘महानगरले कमाउन वा खान दिँदैन । साइकलहरू खोसिदिन्छन् । केही बोल्यो भने मारपिट गर्छन् । साइकल लैजान्छन्, फिर्ता दिँदैनन् । हाम्रो समस्याबारे न त केन्द्र सरकारले पहल गरेको छ, न त महानगरले नै,’ उनले दुखेसो पोखे ।
अर्का कवाडी व्यवसायी राम सिंहले कवाडखाना बन्द भए कवाड कहाँ बेच्ने भन्दै प्रश्न गरे । उनले यदि कवाडीवालाले कवाड नउठाए कवाड बालेन शाहले उठाउने हो भन्दै आक्रोश व्यक्त गरेका छन् ।




प्रतिक्रिया