थप ३७ नेपाली आज अमेरिकाबाट डिपोर्ट हुँदै

थप ३७ नेपाली आज अमेरिकाबाट डिपोर्ट हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाबाट थप ३७ जना नेपाली डिपोर्ट हुँदैछन् ।

उनीहरूलाई अमेरिकी सरकारले चार्टर विमानमार्फत बुधबार काठमाण्डु पठाउँदैछन् ।

डिपोर्ट भएका थप ३७ जना नेपाली बुधबार काठमाण्डु आइपुग्ने नेपालको अध्यागम कार्यालयले जनाएको छ ।

जनवरीदेखि अगस्टसम्म ८ महिनामा अमेरिकाबाट २ सय १५ जना नेपाली डिपोर्ट भएर आइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट नेपालीहरू तेस्रो पटक डिपोर्ट भएर स्वदेश आउन लागेका हुन् ।

यसअघि दुई फरक–फरक चार्टर उडानमार्फत र नियमित उडानमार्फत नेपालीहरू डिपोर्ट भएका थिए ।

यसअघि अमेरिकाले २१ फागुन २०८१ मा डिपोर्टमा परेका ७ पुरुष र १ महिला सहित ८ जना चार्टर विमानमार्फत नेपाल पठाएको थियो । यस्तै २४ जेठमा ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलबाट नेपाल पठाएको थियो । डिपोर्टमा परेका नेपाली लिएर बुधबार आउन लागेको चार्टर जहाज तेस्रो हो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष छन् भने १८ महिला ।

२० जनवरी २०२५ मा दोस्रो कार्यकालको पदभार सम्हालेसँगै राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अगाडि बढाइरहेका छन् । ट्रम्प प्रशासनले त्यहाँको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईस) मार्फत नेपालसहित विभिन्न मुलुकमा गैरकानुनी बसोबास गर्ने आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ ।

आईसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अमेरिकाबाट निष्कासनमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानुनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।

डिपोर्ट भएर आएका दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका सबैभन्दा धेरै छन् ।