काठमाण्डु – वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट चल्ने स्टेथोस्कोपको विकास गरेका छन् ।
एआई स्टेथोस्कोपले केही सेकेन्डमै तीन प्रकारका गम्भीर हृदय रोगको पहिचान गर्न सक्ने शोधकर्ताहरूले जनाएका छन् ।
स्टेथोस्कोपको आविष्कार करिब दुई सय वर्षअघि भएको हो । डाक्टरहरूले बिरामीको शरीरभित्रको आवाज सुन्न यसको प्रयोग गर्दै आएका छन् ।
तर, बेलायतको एक टोलीले आधुनिक एआई–स्टेथोस्कोपको अध्ययन गर्दा के पत्ता लगाएको छ भने यसले हृद्यघात, हृदयभल्भको समस्या र असामान्य मुटुको धड्कन पत्ता लगाउन ठूलो मद्दत गर्छ ।
शोधकर्ताहरूले यो उपकरणलाई गेम–चेन्जर सावित हुन सक्ने भन्दै यसले बिरामीहरूलाई चाँडै उपचार उपलब्ध गराउन मद्दत गर्ने निष्कर्ष निकालेका छन् । यो उपकरणलाई प्रारम्भमा सम्पूर्ण लन्डनभर प्रयोग गर्ने योजना छ ।
एआई स्टेथोस्कोपले कसरी काम गर्छ ?
एआई स्टेथोस्कोपको छातीमा राख्ने भाग सानो उपकरण हो, जसको आकार तासको पत्ताजस्तै हुन्छ । यसमा रहेको माइक्रोफोनले मुटुको धड्कन र रगतको बहावमा हुने सूक्ष्म परिवर्तन समेत टिप्न सक्छ, जुन मानवीय कानले सुन्न सक्दैन ।
यसले इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) परीक्षण पनि गर्छ, जसले मुटुका इलेक्ट्रोनिक संकेतहरू रेकर्ड गरेर क्लाउडमा पठाउँछ । त्यहाँ लाखौँ बिरामीको तथ्याङ्कसँग तुलना गर्दै एआईले त्यसको विश्लेषण गर्छ ।
यो उपकरण अमेरिकाको कम्पनी इको हेल्थले तयार पारेको हो । लन्डनस्थित इम्पेरियल कलेज र इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टले ११ क्लिनिकमा हजारौँ बिरामीमा परीक्षण पनि गरेको छ । परीक्षण एआई स्टेथोस्कोपको प्रयोग गर्दा हृदयघात भएको १२ महिनाभित्र पत्ता लगाउने सम्भावना करिब २.३३ गुणा बढी रहेको पाइएको छ ।
असामान्य मुटुको धड्कन पत्ता लाग्ने सम्भावना २.५ गुणा बढी रहेको पनि परीक्षणमा पत्ता लागेको छ । यस्तै हृदयभल्भ रोग पत्ता लगाउने सम्भावना २.६ गुणा बढी रहेको पनि देखिएको छ ।
ब्रिटिश हार्ट फाउन्डेशनकी क्लिनिकल डाइरेक्टर तथा कार्डियोलोजिस्ट डा. सोन्या बाबू नारायणका यो एक उत्कृष्ट उपकरण हो जुन दुई सय वर्षअघि बनेको सामान्य स्टेथोस्कोपलाई कसरी २१औँ शताब्दीका लागि अपग्रेड गर्न सकिन्छ ।
उनले भनिन्, ‘धेरैजसो अवस्थामा बिरामी आपत्कालीन अवस्थामा अस्पताल पुगेपछि मात्र रोग पत्ता लाग्छ । तर यदि सुरुको चरणमै रोग पत्ता लागेमा समयमै उपचार सम्भव हुन्छ र बिरामीले लामो, स्वस्थ जीवन बिताउन सक्छन् ।’
यसको नतिजा स्पेनको म्याड्रिडमा आयोजित युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक सम्मेलनमा हजारौँ चिकित्सकसमक्ष प्रस्तुत गरिएको थियो ।




प्रतिक्रिया