काठमाण्डु – नेपालमा फेसबूक, एक्स, यूट्युब जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द भए अमेरिकाले भिसा नदिने चेतावनी दिएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेमा सम्बन्धित देशका प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइने अमेरिकाको स्टेट डिपार्टमेन्टले सूचना जारी गर्दै जनाएको छ ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले केही समयअघि जारी गरेको भिसा नीतिअनुसार नेपालमा फेसबूक, एक्स जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द भए कुनै पनि तहका नेपाली सरकारी अधिकारीले अमेरिका प्रवेश पाउन सक्ने छैनन् ।
नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न सरकारले आग्रह गर्दै भदौ १९ गतेसम्मको समयसीमा तोकेको थियो । यदि तोकिएको समयभित्र दर्ता नभए बन्द गर्ने चेतावनी पनि सरकारले दिएको थियो ।
तर सरकारले तोकेको सीमाभित्र फेसबूक, एक्स, यूट्युब लगायत सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता गर्न नआएपछि के गर्ने विषयमा सरकार अझै अन्योलमा छ ।
यी सामाजिक सञ्जाल प्लेटफर्महरूका मुख्यालय अमेरिकामा छन् । यदि नेपाल सरकारले अमेरिकी सामाजिक सञ्जाल प्लेटर्फमहरूलाई बन्द या कडाइ गरेमा सरकारी अधिकारीहरूलाई अमेरिकाले भिसा नदिने अमेरिकाको पछिल्लो नीतिमा उल्लेख छ ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले २८ मे २०२५ मा यस्तो नीति जारी गरेको हो । नीतिअनुसार अमेरिकाले सामाजिक सञ्जाललाई नियमन गर्ने वा बन्द गर्ने प्रयासमा संलग्न विदेशी अधिकारीहरूलाई प्रवेश नदिने उल्लेख छ ।
अमेरिकी विदेश विभाग सचिव मार्क रुबियाद्वारा जारी सूचनामा केही विदेशी सरकार र विदेशी अधिकारीहरूले अमेरिकी नागरिक वा अमेरिकी प्लेटफर्ममा सेन्सरशिप गर्ने प्रयास गरेको र उनीहरूले अमेरिकी टेक कम्पनी वा अमेरिकी नागरिक/वासिन्दामाथि अवैध सेन्सरशिप वा पक्राउ वारन्ट जारी गरेको उल्लेख छ ।
कतिपय विदेशी अधिकारीहरूले अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूलाई वैश्विक सामग्री नियन्त्रण नीतिहरू अपनाउन दबाब दिएको पनि सूचनामा जनाइएको छ । अमेरिकाले यो अस्वीकार्य भएको जनाउँदै अमेरिकी सरकारले नयाँ भिसा प्रतिबन्ध नीति ल्याएको पनि जनाइएको छ ।
विदेशी अधिकारीहरूले अमेरिकी प्लेटफर्मलाई आफ्नो देशबाहिर सेन्सरशिप कार्यान्वयन गर्न दबाब दिन पनि नपाउने र यस किसिमका कार्यमा संलग्न विदेशी अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लाग्ने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया