काठमाण्डु – ललितपुरको गोदावारीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्न रोकेका छन्।
बन्दसत्रमा थापाले ३२ पृष्ठको फरक मत राख्न खोज्दा ओलीले समय अभावको कारण देखाउँदै रोकेका हुन्। थापाले झन्डै आधा घण्टा उभिएर आग्रह गरे पनि बोल्न पाएनन्। उनले आफ्नो मत लिखित रूपमा प्रतिनिधिहरूलाई बाँडेका छन्।
थापाको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नरोक्न र उनलाई पार्टीमा जिम्मेवारी दिन माग गरिएको छ। उनले भण्डारीको सदस्यता २०६२ असार १४ मा ओली आफैंले नवीकरण गरेको दाबी गरेका छन्। थापाले भण्डारीलाई रोक्नु लोकतान्त्रिक मान्यता र नेपालको संविधानविपरीत हुने तर्क गरेका छन्।
नेता थापाले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, संगठनात्मक संरचना गुटजस्तो बनेको र भण्डारीको सदस्यता खारेज गर्नु गलत भएको तीनवटा विषय उठाएका छन्। ओलीले भने राति ३ घण्टा छलफलपछि थापासँग फरक मत नराख्ने सहमति भएको दाबी गरेका छन्।
त्यसअघि बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न आग्रह गरेका थिए।
उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो। अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरू पर्चामार्फत् हलमा वितरण गरेका छन्। शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गरेका थिए।
दोस्रो दिन शनिबार केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्। ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले छलफल गरिरहेका छ ।
समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ। महाधिवेशन आइतबार सम्पन्न हुनेछ।




प्रतिक्रिया