महेन्द्रनगर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित रौलेश्वर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदको निर्वाचनमा ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार पुष्पकमल पण्डित विजयी भएका छन् भने एमाले–माओवादी गठबन्धनका उम्मेदवार तथा पूर्वअध्यक्ष ईश्वरीदत्त भट्ट र कांग्रेस उम्मेदवार पवनकुमार जोशी पराजित भएका छन् ।
निर्वाचनमा १७२ कुल मतदाता रहेकोमा १५२ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार पण्डितले ६१ मत, कांग्रेस उम्मेदवार जोशीले ५० मत र एमाले–माओवादी उम्मेदवार भट्टले ३४ मत पाएका छन् ।
क्याम्पसको चुनावमा एमाले–माओवादी २ दल मिल्दा तेस्रो स्थान मात्रै आएको छ भने कांग्रेस उम्मेदवार राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा लड्दा दोस्रो भएका छन् । ठूला दल विनाका स्वतन्त्र उम्मेदवार पण्डितले एक्लै बाजी मारेका छन् । विगतमा एमाले समर्थित रहेका पण्डितलाई अहिले एमालेले नपत्याएर माओवादी उम्मेदवार भट्टलाई समर्थन गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।




प्रतिक्रिया