काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रूपमा काम गर्ने बताएका छन् ।
शनिबार नेपाल कुरियर सेवा संघको ३१औं वार्षिक साधारणसभा तथा कुरियर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुरियर सेवालाई सरकारले गर्नुपर्ने नियमन र व्यवस्थित गर्न नीतिगत काम गर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले दिनुपर्ने, मन्त्रालयले दिनुपर्ने, खासगरी अहिले प्रचलनको बोझबाट अगाडि बढिरहेको छ । वाणिज्य क्षेत्र खासगरी घरेलु बजारभन्दा अझ बढी उन्नत र तपाईंको अन्तर्राष्ट्रिय मार्केट भइसकेपछि त्यसलाई नियमन गर्ने, यसलाई व्यवस्थित गर्ने, तपाईंहरूको सेवालाई आकर्षक बनाउने । त्यहाँ त्यसमा आइपर्ने अनेक खालका कतै चोरीको कुरा होला, कहीँ अवैध खालका घुसपैठका विषयहरू होलान् । त्यसलाई कसरी समाधान गर्न म उपयुक्त समयमा चाँडै मन्त्रालयमा आमन्त्रण गर्नेछु, छलफल गर्नेछु ।’
उनले आजको डिजिटल प्लेटफर्मको विकासले हुलाक सेवा विस्थापन भए पनि संसारभरका नेपालीलाई जोड्न सफल भएको बताए । ‘आजको डिजिटल प्लेटफर्मको विकास भइसकेपछि, डिजिटल प्रणालीले नयाँ खालको विकास गरिसकेपछि खासगरी हुलाक सेवा जुन रूपमा थियो, त्यो पुराना चिजहरू विस्थापन भयो,’ उनले भने, ‘खासमा नेपालीहरू संसारभर फैलिसकेपछि उसको कुनै न कुनैरुपा हामीसँग जोडिएका छन् । आफ्नो मातृभूमिसँग आजको कर्मभूमिमा हुँदाखेरि त्यसको कुनै न कुनै लगाव, व्यावसायिकता या करेन्सीको या फेमिलीवर विभिन्न हिसाबले सम्बन्ध छ । त्यसैले त्यसलाई एउटा जोड्ने सेवा प्रवाह र व्यवसायिकतालाई त्यो विषयले अझ यसले बढोत्तरी पायो ।’
उनले व्यवसायलाई मर्यादित, भरपर्दो बनाउन आइपरेका समस्याको पहिचान गरी कार्यविधि र नियमावली बनाउनुपर्ने समेत बताए ।




प्रतिक्रिया