‘यो पोस्ट कुन भीपीएनबाट हो ?’ बालेनको कमेन्टमा देउवाको पोस्टभन्दा १२ हजार बढी रियाक्ट

‘यो पोस्ट कुन भीपीएनबाट हो ?’ बालेनको कमेन्टमा देउवाको पोस्टभन्दा १२ हजार बढी रियाक्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुकमा व्यंग्यात्मक कमेन्ट गरेका छन् ।

देउवाले आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाएको विषय आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

सरकारकै निर्णयअनुसार फेसबुक प्रतिबन्धित भइरहेको बेला गरिएको उक्त पोस्टमाथि बालेनले टिप्पणी गर्दै लेखे ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त।’

उनको उक्त भनाइलाई धेरैले सरकारकै निर्णयविरुद्ध गरिएको व्यंग्यका रूपमा अर्थ्याएका छन् । सामाजिक सञ्जालमा सयौँ प्रतिक्रिया आउँदा नेताहरु स्वयंले प्रतिबन्धित प्लेटफर्म प्रयोग गरिरहेको प्रश्न समेत उठाइएको छ ।

केही समयअघि सरकारले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, सोही प्लेटफर्ममार्फत शीर्ष नेताहरुको गतिविधि सार्वजनिक भइरहनुले सरकारको निर्णयमाथि नै प्रश्न खडा भएको छ ।

बालेनको उक्त कमेन्टमा १६ हजार भन्दा बढीले रियाक्ट गरेका छन् । जबकी देउबाको पोस्टले ४ हजारको हाराहारीमा लाइक पाएको छ ।