डिजिटल पुस्ताको ‘प्लेकार्ड’ आधुनिक, तर नाराबाजी उही पुरानै

डिजिटल पुस्ताको ‘प्लेकार्ड’ आधुनिक, तर नाराबाजी उही पुरानै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जेड (जेनजी) पुस्ता सडकमा उत्रिएको छ।

उनीहरू सोमबार बिहानदेखि माइतीघर–बानेश्वरमा विभिन्न प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन्। टिकटक र रेडिटमा भाइरल बनेको ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ।

भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबीच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका ती युवाहरू सडकमा पनि आन्दोलनरत छन्।

जेनेरेसन जेड (जेनजी) का युवाहरूको प्रदर्शन शैली पुरानो पुस्तासँग धेरै फरक छैन । अनलाइन लर्निङ, युट्युब, गूगल, टिकटकमार्फत सजिलै जानकारी लिने, विविधता, समानता, लैङ्गिक समानता, मानसिक स्वास्थ्य र वातावरणीय चेतनाबारे सचेत यो पुस्ता भनिए पनि प्रदर्शन शैली भने पुरानै पुस्ताकै जस्तो देखिएको छ।

प्लेकार्डमा नयाँ तरिकाले सन्देश लेखिएका भए पनि नाराबाजी भने उही पुरानै शैलीमा गरिएका छन्। आन्दोलनमा सहभागी युवाहरूले ‘सरकार तेरो पाराले, दुःख पायो साराले’, ‘केपी…देश छोड’ जस्ता नारा लगाइरहेका छन् । सम्भवत: हरेक क्षेत्रका असन्तुष्ट पक्ष या जेनजी भन्दा अघिल्लो पुस्ताले गर्दै आएका नाराबाजी  यीनै रहेका छन् । 

कसैले ‘वाक स्वतन्त्रता होइन, वाक्क लाग्दो स्वतन्त्रता’, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजेड चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स, लुटेर रुरु’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’ र ‘हामीलाई बोल्न दे सरकार’ जस्ता नाराले आफ्नो आक्रोश र माग प्रकट गरेका थिए।

केही युवाहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो’ भन्ने प्लेकार्ड समेत बोकेका थिए।