अन्तर्राष्ट्रिय मिडियामा छायो नेपालको जेन जी प्रदर्शन

अन्तर्राष्ट्रिय मिडियामा छायो नेपालको जेन जी प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी पुस्ताले सोमबार काठमाण्डुमा गरेको प्रदर्शन विश्वभर समाचार बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जेनजीको प्रदर्शनमा भएको झपड, गोलीबारी, तोडफोड, आगजनी, संसद्भित्र प्रदर्शनकारीहरूको प्रवेश आदि विषयलाई समेट्दै प्रमुखताका साथ समाचार प्रकाशन र प्रसारण गरेको छ ।

प्रर्दशन हिंसात्मक बनेको र केहीको मृत्यु तथा घाइते भएको पनि उनीहरूले उल्लेख गरेका छन् । भारतका केही टीभी च्यानलहरूले काठमाण्डुको जेन जीको प्रदर्शनको विषयमा प्रत्यक्ष प्रसारण पनि गरेको छ ।

जेनजी पुस्ताहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै सोमबार काठमाण्डुको माइतीघरमा प्रदर्शन गरी बानेश्वर पुगेका थिए । प्रदर्शनकारीहरू बानेश्वरमा संसद भवनभित्र जान खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

झडपका क्रममा अहिलेसम्म १६ जनाको मृत्यु र सयौं घाइते भएका छन् । घाइते हुनेमा ३ जना पत्रकार पनि छन् ।

जेनजी पुस्ताले आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

अफ्रिकी देश नाइजेरियाको प्रमुख समाचारपत्र पुञ्चले आफ्नो अनलाइन संस्करणमा काठमाण्डुमा सोमबार हजारौँ युवाहरूले सरकारसँग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र देशभर मौलाएको भ्रष्टाचारको संस्कृतिको अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेको उल्लेख गरेको छ ।

यस्तै भारतको डेकनहेराल्डले ‘सबैभन्दा माथि स्वतन्त्रता : विरोधबीच प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल प्रतिबन्धको बचाउ गरे’ शीर्षकमा लेखेको छ, ‘युवा अभियन्ताहरूले २६ सामाजिक सञ्जाल प्लेटफर्ममाथिको व्यापक प्रतिबन्धको विरोध गर्दै यसले नेपालको डिजिटल प्रगतिलाई अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।’

शुक्रबारदेखि नेपालमा फेसबुक, युट्युब, एक्स (पूर्व ट्विटर) लगायतका सामाजिक सञ्जालहरू पहुँचबाहिर छन् । सरकारले २६ वटा दर्ता नभएका प्लेटफर्मलाई अवरुद्ध गरेपछि प्रयोगकर्ताहरू असन्तुष्ट र अन्योलमा परेका छन् ।

झण्डै सबै सामाजिक सञ्जाल प्लेटफर्म प्रतिबन्धित भएपछि ‘भ्रष्ट नेताहरू’लाई आफ्ना आम्दानीका स्रोतहरू सार्वजनिक गर्न आग्रह गर्दै युवाहरू सडकमा ओर्लिएको इण्डियन एक्सप्रेसले लेखेको छ ।

भ्रष्टाचारविरुद्ध उठ्दै नेपालका जेन–जेड भन्दै टाइम्स अफ इजरायलले मुख्य समाचार बनाएको छ । ‘यो आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको विरोध मात्र होइन, यो दशकौँदेखि दबिइरहेको भ्रष्टाचार, असमान अवसर र असफल शासनप्रति उठेको चर्को आक्रोश हो’, टाइम्स अफ इजरालले लेखेको छ ।

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध नेपालमा जेन–जेडको विशाल प्रदर्शन, गोलीकाण्डमा ५ जनाको मृत्यु, ८० घाइते शीर्षमा इण्डिया टुडेले समाचार बनाएको छ । समाचारमा भनिएको छ, ‘सामाजिक सञ्जाल सीमित गर्ने सरकारको कदम अन्तिम चिंगारी सावित भयो, जसले डिजिटलमा निपुण नेपाली युवालाई अनलाइनबाट सडकमा ल्याएर साहसी र समन्वित प्रतिरोधको प्रदर्शन गर्न प्रेरित गर्‍यो ।’

यस्तै भारतको जीन्यूजले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध काठमाण्डुमा जेन–जेडको विशाल प्रदर्शन शीर्षकमा समाचार लेखेको छ ।

यसैगरी बीबीसीको नेपाली, हिन्दी र अंग्रेजी सेवाले पनि काठमाण्डुको प्रदर्शनलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेको छ ।

भारतको टिभी आजतकले पनि प्रदर्शनलाई लाइभ गर्दै समाचार प्रसारण गरेको छ ।