युवाप्रति भएको हिंसा मर्माहत छ, नवपुस्ताको मर्मलाई बुझेर सम्बोधन गर्नुपर्‍यो : बिद्या भण्डारी

युवाप्रति भएको हिंसा मर्माहत छ, नवपुस्ताको मर्मलाई बुझेर सम्बोधन गर्नुपर्‍यो : बिद्या भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराष्ट्रपति बिद्या देवी भण्डारीले सोमबार जेनजी आन्दोलनमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू मर्माहत बनेको बताएकी छिन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारविरुद्धको आन्दोलन र सुशासनको मागसहित ‘जेन जी’ पुस्ताले काठमाण्डु सहित विभिन्न क्षेत्रमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ठूलो सङ्ख्यामा युवा विद्यार्थीको निधन भएको घटनाले आफू स्तब्ध बनेको भण्डारीले विज्ञप्तिमार्फत उल्लेख गरेकी छिन् ।

‘असामयिक रूपमा जीवन गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना प्रिय सन्तान गुमाउनु भएका माता–पिता र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले भनेकी छिन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क तथा गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेकी छिन् ।

उनले वर्तमान आन्दोलनलाई केवल सुरक्षा दृष्टिकोणबाट मात्र नभई नवपुस्ताको मर्मलाई बुझेर सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छिन् । “नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सरोकारवालाहरूले आन्दोलनरत युवाका जायज मागलाई संवेदनशीलतापूर्वक लिँदै वार्ता र संवादमार्फत दिगो समाधान खोज्नुपर्छ,” पूर्वराष्ट्रपतिले भनिन् ।

भण्डारीले सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबै मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्नुपर्ने उल्लेख गर्दै युवापुस्ताको विश्वास जित्ने ठोस कदम चाल्न पनि आग्रह गरेकी छिन् ।