एजेन्सी– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड तथा ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शनमा राखेको छ।
तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ।
त्यस्तै, उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा ट्रम्पका विभिन्न आलोचनात्मक चित्रहरू राखिएका छन्। केही चित्रमा उहाँको अनुहार रगतले लतपतिएको तथा बमले छोपिएको देखाइएको छ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इजरायलविरोधी राजनीतिक सन्देश दिन सार्वजनिक स्थलमा विशाल होर्डिङ तथा भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ।
अमेरिका र इजरायलको इरानमाथिको सैन्य कारबाहीपछि तेहरानमा ट्रम्पविरोधी प्रचार थप आक्रामक बनेको हो। यसैबीच, युद्ध अन्त्य गर्न तथा अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन कूटनीतिक प्रयाससमेत भइरहेका छन्।



प्रतिक्रिया