काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले देशमा जारी जेनजी आन्दोलनबीच संयमता अपनाउन र राष्ट्रिय सम्पत्ति जोगाउन सबै पक्षलाई अनुरोध गरेको छ ।
सशस्त्रले मंगलबार विज्ञप्ति जारी गर्दै हालको संवेदनशील परिस्थितिमा जनधनको क्षति कम गर्न पूर्ण संयमताका साथ आफ्ना फौज परिचालित भइरहेको जानकारी गराएको छ ।
सशस्त्रले आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाका लागि सदैव समर्पित सशस्त्र प्रहरी बल नेपाल यस विषम परिस्थितिमा राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध गर्दछ ।’
सशस्त्रले राष्ट्रिय सम्पत्तिमा भएको क्षति नियन्त्रण, न्यूनिकरण र उद्धार कार्यमा जेनजी लगायत सम्पूर्ण पक्षहरूसँग सहकार्य गर्दै संयुक्त रूपमा काम गर्न आफू पूर्ण तयार र प्रतिबद्ध रहेको पनि जनाएको छ ।





प्रतिक्रिया