काठमाण्डु – नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई माइकिङ गर्र्दै घरमै बस्न आग्रह गरेको हो ।
अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ ।
अहिले काठमाण्डु उपत्यकाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।
शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ ।
प्रदर्शनकारीले आगजनी गरेको सिंहदरबार, सर्वोच्च अदालतलगायत भवनमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ।
यस्तै प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायत सरकारी संरचना र नेताका घरमा तोडफोड र आगजनी गरेपछि सेनाले सुरक्षाको अगुवाइ गरेको हो ।




प्रतिक्रिया