काठमाण्डु – जेनजी पुस्ताको मागबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर उत्पन्न शुन्यताको अवस्थामा नेपालको आगामी बाटो के होला भनेर सर्वत्र चासो बढेको छ ।
अन्योलबीच नेपाली सेनाले हिंसात्मक अवस्थालाई नियन्त्रणमा लिएको छ भने आगामी मार्गचित्र तय गर्न विभिन्न क्षेत्रसँग छलफल गरिरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना र विभिन्न सुुरक्षा निकायले जेनजीलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेपछि जेनजी प्रतिनिधिहरू सेनाको सम्पर्कमा आएका छन् । मंगलबार साँझदेखि बुधबार बिहानसम्म विभिन्न चरणमा जेनजीका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले वार्ता गरेका छन् ।
अनौपचारिक वार्ताका क्रममा जेनजी प्रतिनिधिले औपचारिक वार्ताका लागि संसद् विघटनको शर्त राखेका छन् । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पनि आन्दोलन रोकेर वार्तामा आउन जेनजी पुस्तालाई आह्वान गर्र्दै वार्ताका लागि संसद् विघटनको शर्त राखेका थिए । उनले लेखेका थिए, ‘याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’
संसद् विघटनका लागि सेनाले मात्रै तयार भएर हुँदैन । संसद् विघटनको औपचारिक घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुपर्छ । तर राष्ट्रपति पौडेल तत्कालै संसद् विघटन गर्न तयार नहुँदा औपचारिक वार्तामा ढिलाइ भइरहेको स्रोतले जनाएको छ ।
जननिर्वाचित संसद् विघटन हुँदा थप शुन्यता र संकट निम्तिने भन्दै तत्कालीन समस्याको समाधान र नयाँ सरकार गठन गरेपछि मात्रै संसद्बारे छलफल गर्नुपर्ने राष्ट्रपतिको मनसाय रहेको बताइन्छ । तर जेनजी प्रतिनिधिले संसद् विघटनलाई आधारभूत मागको रूपमा अघि सारेका छन् । जसले गर्दा औपचारिक वार्ता सुरु हुन सकेको छैन ।
यसरी संसद् विघटनमा कुरा अड्किएका बेला सेनाले जनधनको क्षति हुन नदिन सुरक्षामा ध्यान दिएको छ । सेनाले बुधबार दिउँसो देशैभर निषेधाज्ञा र राति कर्फ्यू आदेश जारी गरेको छ । निषेधाज्ञाका बेला घरबाहिर ननिस्किन आग्रह गर्ने र सम्झाइबुझाई गर्दै काम बल प्रयोग गरिन्छ भने कर्फ्यूका बेला सिधै गोली हान्ने अवस्था पनि हुन्छ । यसरी सेनाले परिस्थितिलाई नियन्त्रणमा लिन खोजिरहेको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले वार्ताका लागि बुधबार बिहानदेखि सम्बन्धित पक्षसँग समन्वय भइरहेको जानकारी दिए ।




प्रतिक्रिया