जेनजी प्रदर्शन किन हिंसक भयो ?

जेनजी प्रदर्शन किन हिंसक भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत सोमबार र मंगलबार देशभर जेन जी प्रदर्शन भयो । प्रदर्शन हिंसक हुँदा ५१ जनाको मृत्य भयो भने हजारौं घाइते भए । यतिकै मात्र होइन, प्रदर्शनमा थुप्रै सरकारी र व्यक्तिगत संरचना पनि आगोले ध्वस्त भएको छ । प्रदर्शनकारीले राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक सरचनामा आगो लगाएर ध्वस्त बनाए ।

यस विरोधमा न केवल राजधानी काठमाडौंका अधिकांश ऐतिहासिक र आधुनिक भवनहरूमा आगजनी गरियो, बरु यसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नुपर्‍यो।

प्रदर्शन यति उग्र भयो कि अन्ततः सरकारले घुँडा टेक्नु परयो र सत्ता नै पल्टियो । देश राजनीतिक र कानुनी संकटमा परेपछि प्रदर्शनकारीको समेत सहमतिमा पूर्वप्रधानन्याधीश सुशिला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी छन् ।

१७ वर्षअघि नेपाल गणतान्त्रिक देश बने यता यति ठुलो आन्दोलन भएको यो पहिलो हो । तर अचानक भड्किएको यस आन्दोलनका पाँच प्रमुख कारण विश्लेषण गरिएको छ ।

सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालको हालको संकटका लागि केही विश्लेषकहरूले तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले भदौ १९ गते जारी गरेको आदेशलाई जिम्मेवार मानेका छन् ।

यस आदेशमा सरकराले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, ट्विटर, युट्युब र एक्ससहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाएको थियो ।

सरकारको भनाइ थियो—बारम्बार चेतावनी दिइरहँदा पनि यी कम्पनीहरूले नेपालको कानुन र नियमको पालना गरेनन् ।

यी प्रतिबन्धले लाखौँ नेपाली प्रयोगकर्तालाई असुविधा पु¥यायो, जो सूचना पाउन र सञ्चार गर्न यी प्लेटफर्म प्रयोग गर्थे ।

ग्लोबल डिजिटल इन्साइट्सको प्रतिवेदनअनुसार नेपालका करिब ५५ प्रतिशत (१ करोड ६० लाखभन्दा बढी) जनसंख्यालाई इन्टरनेटको पहुँच छ । जसमा आधाभन्दा बढी सामाजिक सञ्जाल सक्रिय प्रयोगकर्ता छन् ।

प्रतिबन्धपछि नेपालीहरूको पहुँच केवल भाइबर र टिकटकजस्ता केही एप्समा मात्र सीमित भयो । सरकारले यसअघि टिकटकमाथि पनि प्रतिबन्ध लगाएको थियो । तर नियम पालन गर्ने सहमति पछि पुनः सुचारु भएको थियो ।

यसअघि, ‘नेपो किड्स’ नामक सामाजिक अभियान नेपालमा ट्रेन्डिङमा थियो । जसमा भाई–भतिजावाद र राजनीतिक सम्बन्धको फाइदा उठाउने युवालाई निशाना बनाइएको थियो ।

भदौ २३ गते१४–२८ वर्ष उमेरका ‘जेनेरेशन जेड’ शान्तिपूर्ण प्रदर्शनका लागि सडकमा उत्रिँदा उनीहरूको मागमा अन्य चिन्ताहरू पनि समावेश थिए ।

भ्रष्टाचारका मुद्दा

जेनेरेशन जेडका प्रदर्शनकारीहरूले ‘भ्रष्टाचार अन्त्य गर’ र ‘सोशल मिडिया होइन, भ्रष्टाचारमाथि प्रतिबन्ध लगाऊ’ भन्ने प्लेकार्ड बोकेका थिए ।

प्रदर्शन बढ्दै जाँदा केहीले सिंहदरबार र संसद भवनतर्फ प्रवेशको प्रयास गरे । जसपछि प्रहरीको बल प्रयोग सुरु भयो । प्रहरीको अश्रुग्यास, रबरको गोली र गोलीकाण्डमा देशभर धेरै प्रदर्शनकारी मारिए । त्यसको भोलि पल्ट भदौ २४ गते विशाल स्तरमा विरोध फैलियो र यसले देशभर अशान्ति ल्यायो ।

प्रदर्शनकारीहरूले ठूला नेताहरूलाई ‘भ्रष्ट’ भन्दै उनीहरू घरघरमा गएर आक्रमण गरे र आगजनी गरे ।

हालैका महिनामा नेपाल भ्रष्टाचारका ठूला घोटालाले हल्लिएको थियो । यीमध्ये केहीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अन्य शीर्ष नेताहरू पतञ्जली योगपीठ नेपालका लागि भूमि अधिग्रहण प्रकरणमा फसेका थिए ।

ओली र उनका केही सहयोगीहरू पनि गिरिबन्धु चिया बगान जग्गा प्रकरणमा मुछिएका थिए । अर्को चर्चित मुद्दामा दुई पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित एक दर्जनभन्दा बढी वरिष्ठ सरकारी अघिकारीहरूलाई अमेरिकी भुटानी शरणार्थी घोटालामा जेल पठाइएको थियो ।

यसैमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम पनि जोडिएको थियो । यद्यपि उनले संलग्नता नकारेकी थिइन् ।

ट्रान्सपेरेन्सी इन्टरनेशनलको सूचकांकअनुसार नेपाल एशियाका सबैभन्दा भ्रष्ट देशमध्ये एक हो । २०२४ मा नेपाल १८० देशमध्ये १०७औँ स्थानमा परेको थियो ।

युवाहरूको विदेश पलायन

कोभिड महामारीपछि नेपालको अर्थतन्त्रमा सुधार देखिएको थियो । पर्यटनमा पनि वृद्धि भएको थियो । तर, रोजगारी खोज्दै युवाहरू निरन्तर विदेशतर्फ गइरहेका छन् । यसैले विप्रेषण रकम बढिरहेको छ ।

एशियाली विकास बैंकअनुसार २०२५ मा नेपालको अर्थतन्त्र ४ प्रतिशतभन्दा बढीले बढ्ने अनुमान छ । तर, जेन जीको प्रदर्शनले यसमा असर पर्न सक्ने सम्भावना छ ।

२०२१ को जनगणना अनुसार करिब ३० लाख नेपाली विदेशमा बस्छन् । लाखौँ भारत, खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र जापानमा श्रमिकका रूपमा छन् । युरोप पनि नेपाली श्रमिकहरूको नयाँ गन्तव्य बन्दैछ ।

साथै हजारौँ विद्यार्थी पनि राम्रो अवसर र शिक्षाका लागि अष्ट्रेलिया, न्यूजिल्यान्ड, बेलायत र अमेरिकातर्फ पलायन भइरहेका छन् ।

नेपाल राष्ट्र बैंकअनुसार २०२५ मे–जुनबीच विदेशमा रहेका नेपालीहरूले १७६ अर्ब रुपैयाँ पठाएका छन् ।

युवाको मोहभंग

नेपालमा धेरै उद्योग छैनन् । साथै विदेशी लगानी आकर्षित गर्न सरकार सफल देखिएको छैन । राजनीतिक अस्थिरताले सकरार बारम्बार परिवर्तन भइरहँदा विदेशी लगानीकर्ताले लगानी गर्ने वातावरण पाइरहेका छैनन् । जसका कारण स्वदेशीसहित विदेशी लगानीकर्तालाई हतोत्साहित बनेको छ ।

धेरै युवा उच्च तलबका रोजगारीका लागि विदेश जान थालेका छन् । उच्च शिक्षाको लागि विश्वविद्यालयहरू भए पनि राजनीतिक वातावरणले विद्यार्थीलाई विदेश धकेलिरहेको छ । विश्वविद्यालयहरू राजनीतिक दलका विद्यार्थी संगठनह विश्वविद्यालयहरूको चक्रव्यूहमा फसेको छ ।

नेपालमै बाँकी रहेका ‘नेपो किड्स’ राजनीतिक दलसँग जोडिँदै सरकारी जागिर वा ठेक्कामा अवसर पाएका छन् । तर जेनेरेशन जेडका युवाहरूले यसलाई अन्यायपूर्ण मानेका छन् ।

ठूला स्तरमा घुसपैठ

भदौ २३ गते प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएलगत्तै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निहित स्वार्थी समूहको घुसपैठलाई दोषी ठहराए । तर कुन समूहले घुसपैठ गर्‍यो भन्ने उनले स्पष्ट पारेनन् ।

जेनेरेशन जेडका प्रदर्शनकारीहरूले पनि आफ्ना आन्दोलनलाई “घुसपैठीहरूले हाईज्याक” गरेको बताएका थिए ।

यदि छिट्टै अनुसन्धान आयोग गठन गरियो भने काठमाण्डुबाटसुरु भएर देशभर फैलेको हिंसात्मक आन्दोलनमा को–को संलग्न थिए भन्ने पत्ता लाग्न सक्छ ।

यसअघि, राजतन्त्र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी र व्यापारी दुर्गा प्रसाईको नेतृत्वमा गत चैतमा काठमाण्डुमा प्रदर्शन भएको थियो । जसमा पनि हिंसा मच्चिएको थियो ।