काठमाण्डु – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटस्थित माथिल्लो ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।
आयोजनास्थलमा फसेकाको उद्धार गर्न सेनाको मेडिकल टोली तयारी अवस्थामा रहेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धार गर्न सेनाको टोली तयारी अवस्थामा रहेको हो ।
उद्धार कार्य नेपाली सेनाको नियन्त्रण तथा समन्वयमा भइरहेको छ। टोलीले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सक्दो प्रयास गरिरहेको छ।
उद्धारपछि सुरक्षित स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ। हेलिकोप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ।
सुरुङको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको छ ।
आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको प्राविधिक टोली खोजी तथा उद्धारमा जुटेको छ ।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचनासहित ठूलठूला ढुंगा तथा अन्य डेब्रिस थुप्रिएको थियो। रातदिन निरन्तरको प्रयासपछि डेब्रिस पन्छाएर माथिबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको छ।




प्रतिक्रिया