उद्योगी व्यवसायीलाई निराश नहुन महासंघ अध्यक्षको अपिल : ‘फेरि उठ्नुपर्छ, अघि बढ्नुपर्छ’

उद्योगी व्यवसायीलाई निराश नहुन महासंघ अध्यक्षको अपिल : ‘फेरि उठ्नुपर्छ, अघि बढ्नुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालैको जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका उद्योग व्यवसायमा भएको तोडफोड, आगजनी र क्षतिपछि व्यवसायीहरूलाई मनोबल नखसाल्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नै व्यवसायमा समेत ठूलो क्षति पुगेको अवस्थामा पनि अध्यक्षले देशभरका उद्यमी व्यवसायीहरूलाई पुन: निर्माणमा जुट्न आह्वान गरेका हुन् ।

उनले शून्य पुँजीबाट सुरु गरिएको व्यावसायिक यात्राको संघर्ष र प्रतिबद्धता सम्झिँदै अहिले मुलुकका २० हजारभन्दा बढी नेपालीको प्रत्यक्ष रोजगारीसँग आफ्नो व्यवसाय जोडिएको उल्लेख गरे ।

‘हामीले ४ दशकअगाडि इमान्दारिता, निरन्तरता र देशमै केही गरौं भन्ने अठोटका साथ सुरु गरेको सानो व्यवसाय आज फराकिलो राजमार्ग बनेको छ,’ अध्यक्ष ढकालले लेखेका छन्, ‘तर अहिले भने जिम्मेवारीकै सबैभन्दा कठिन मोडमा पुगेको महसूस भइरहेको छ ।’

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा धेरै उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको भन्दै उनले लेखेका छन्, ‘यो क्षण केवल भौतिक सम्पत्तिको क्षति मात्र होइन, मन, समर्पण र सपनामाथि लागेको चोट पनि हो । तर हामी हतोत्साहित हुन मिल्दैन ।’

उनले व्यवसायीहरूलाई आजैदेखि क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा जुट्न, थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न र प्रत्येक चुनौतीलाई नयाँ अवसरका रूपमा लिन सुझाव दिएका छन् । ‘८१ प्रतिशतभन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र विना मुलुकको समृद्धि सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामी नआत्तिऔं, नथाकौं, फेरि उठौं र अघि बढौं ।’

अध्यक्षले नयाँ पुस्तालाई पनि निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको इन्जिन हो भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन् । ‘भोलिका पुस्ताले रोजगारी खोज्दै खाडी वा मलेसिया जान नपरोस् भन्ने सपना हामीले पूरा गर्नुपर्छ,’ उनले भने, ‘विश्वास गरौं, भोलि सुनौलो बिहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भविष्यका पुस्तालाई प्रेरणा दिनुछ ।’

उनले सबै व्यवसायीहरूलाई दु:खलाई साझा ठानी अझ सबल भएर अघि बढ्न आग्रह गर्दै भनेका छन्, ‘आउनुहोस्, सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौं ।’