काठमाण्डु – जेन जी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा बुधबार राष्ट्रिय शोक मनाइँदैछ । सरकारले शोक दिवस मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको मंगलबार शवयात्रासहित अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो । तीमध्ये छ जनाको शव काठमाण्डु बाहिर लगिएको छ भने चार जनाको सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरिएको हो ।
भदौ २३ र २४ गते भएको आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७३ जना पुगेको छ । जसमध्ये प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ ।




प्रतिक्रिया