काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रवासमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न हालै सरकारले देखाएको चासोलाई स्वागत गर्दै रास्वपाले सक्रिय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैठकले मतदाता नामावली दर्ता पूर्णरूपमा अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास/कन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा बायोमेट्रिक सेवा उपलब्ध गराउनुपर्ने सुझाव पनि सम्बन्धित निकायलाई दिने निर्णय गरेको छ ।
बैठकले जेनजी पुस्ताले नेतृत्व गरेको भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनप्रति नैतिक ऐक्यबद्धता व्यक्त गर्दै तोडफोड, लुटपाटजस्ता घटनाहरू भने रास्वपाको राजनीतिक संस्कृतिभित्र नपर्ने स्पष्ट पारेको छ । समाजमा विभाजन बढ्न नदिन सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने पनि निर्णय पनि गरिएको छ ।
पार्टीको आगामी कार्यदिशा तय गर्न २०८२ असोज ७ गते केन्द्रीय समिति बैठक बस्ने र त्यसैमा बृहत् विस्तारित बैठक बोलाउने प्रस्ताव पेश गर्ने निर्णय बैठकले गरेको छ । त्यसक्रममा पार्टीको पहिलो महाधिवेशन (फागुन ७, ८ र ९) निर्वाचन मितिसँग जुधेकाले गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल हुने सचिवालय बैठकले जनाएको छ ।




प्रतिक्रिया