काठमाण्डु – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खस्दा अवरुद्ध बाटो अझै खुलेको छैन । शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको छ ।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट साढे २ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाण्डु जाने–आउने सवारीसाधन जाममा परेका छन् भने यात्रुहरू अलपत्र परेका छन्।




प्रतिक्रिया