काठमाण्डु – एशिया कप टी–२० क्रिकेटमा ओमान भारतसँग २१ रनले पराजित भएको छ ।
समूह एको गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।
जितका लागि १८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनायो । ओमानका आमिर कलिमले सर्वाधिक ६४ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । भारतका सन्जु स्यामसनले सर्वाधिक ५६ रन बनाए ।
समूह एमा भारत तीन खेलमा अपराजित रहदै सुपर–४ मा पुगेको छ । यो समूहबाट पाकिस्तानले पनि सुपर–४ मा स्थान बनाएको छ ।
त्यस्तै समूह बीबाट श्रीलङ्का र बङ्गलादेश सुपर–४ मा पुगेका छन् ।
सुपर–४ का खेल शनिबारदेखि शुरू हुँदैछन् । शनिबार श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ ।
सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । भारत र पाकिस्तानबीचको खेल आइतबार हुनेछ ।




प्रतिक्रिया