काठमाण्डु – तीन दिनदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार ११ बजेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन नसक्दा बाटो अहिले पनि अवरुद्ध नै छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझदेखि पनि निरन्तर पहिरो खसिरहेको छ। पहिरो हटाउन चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरेको थियो तर माथिबाट ढुंगा खसिरहेकाले पहिरो हटाउन सकिएको छैन ।
पहिरो पन्छाउने काम भइरहे पनि सडक खुल्ने वा नखुल्ने भन्ने अझै निश्चित भइरहेको छैन। बाटो नखुल्दा कार्यालयले वैकल्पिक सडकहरू उपयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
कार्यालयले काठमाण्डुबाट मुग्लिनसम्म आएका पश्चिम जाने साना ठुला सबै खाले गाडीहरूलाई पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तव्यमा जान सक्ने डिभिजन विकल्प दिएको छ। नभए भिमाद हुँदै कालीगण्डकी करिडोर पनि प्रयोग गर्न सुझाएको छ।
त्यस्तै, पूर्वबाट काठमाण्डु जाने आउने गाडीहरूले नौबिसे–दामन–हेटौंडा सडक प्रयोग गर्न सजिलो हुने कार्यालयको भनाइ छ। कालीगण्डकी करिडोरको नारायणगढ नजिक गैंडाकोटबाट डेडगाउँ, भिमाद हुँदै पृथ्वीराजमार्ग समाएर मुग्लिन निस्कन सक्ने विकल्प पनि डिभिजन सडक कार्यालयले दिएको छ ।
राजधानी काठमाण्डुलाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दसैँको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिएका छन्।
जिल्ला ट्राफिक कार्यालयले पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै फसेको जनाएको छ ।
सयौँ यात्रुहरूलाई असुविधा भएको छ।
पहिरो आडबाट पैदलै ओहर दोहर गर्न मिल्ने ठाउँ पनि छैन । मुग्लिनबाट नदी तरेर तनहुँ पुगी त्रिशुली आडबाट भर्खर खन्न सुरू भएको समानान्तर सडकबाट पैदल, मोटरसाइकल या साना खाले गाडीमा पाँच किलो मिटर पर गएर झोलुङ्गे पुल तरी नारायणगढ–मुग्लिन सडक समाउन सकिने विकल्प पनि छ । हतार भएका यात्रुहरू यो कच्ची सडक हुँदै मुग्लिन ओहर दोहर गरिरहेका छन् ।
पृथ्वीराजमार्गको मझिमटार नजिक धादपङ हुग्दी खोलाबाट उकालो लागेर धादिङको जोगिमारा, कोट, बाँसपुर हुँदै चितवनको शक्तिखोर निस्कन मिल्ने ग्रामिण पहाडी सडक पनि मोटरसाइकल र फोर ह्वील भएका साना गाडीहरूले प्रयोग गर्न सक्ने छन् ।
यो बाटो पृथ्वीराजमार्गको मौवाखोला हुँदै पनि जान सकिन्छ ।




प्रतिक्रिया