निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन हुनु आवश्यक छ : अध्यक्ष ढकाल

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन हुनु आवश्यक छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए ।

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुभ्mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे । निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनले बताए ।

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभर भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करीब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए । ‘हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तिको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं । भदौ २३ र २४ गतेपछिको जेनजी आन्दोलनपछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हामीसामु यो अवस्थाबाट माथि उठ्नुपर्ने चुनौती छ,’ उनले भने ।

यद्यपि वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रूपमा लिएको बताए ।

उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसँगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे ।

महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आमसर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए । उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुन:स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताए ।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नुपर्ने बताए ।

सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताए । महासंघ र सेजनबीच लामो समयदेखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सहकार्यको निरन्तरतामा जोड दिए ।

महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।