वडा कार्यालयबाटै सेवा प्रदान गर्नुहोस् : मुख्यमन्त्री कँडेल

वडा कार्यालयबाटै सेवा प्रदान गर्नुहोस् : मुख्यमन्त्री कँडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरूसँग छलफल गरेका छन् ।

आन्दोलनमा नगरपालिकाका १–१२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन् ।

मुख्यमन्त्री कँडेल मंगलबार जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडाध्यक्षसँग छलफल गरेका थिए । वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेनजी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रूपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो ।

स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले वडा कार्यालयका संरचना आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे वडाध्यक्षहरूसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री कँडेलले अब अवस्था सामान्यकृत हुँदै गएकाले १ थान कम्प्युटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्नु गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री कँडेलले छलफलका क्रममा भने, ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ, वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ, सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ, जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो । आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्वपूर्ण इकाइमा क्षति पुगेको छ । ७ वटा वडा कार्यालय पूर्णरूपमा जलेर खरानी भएका छन् ।

वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ ।

घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पुर्‍याएको भए पनि मुख्यमन्त्री कँडेलले कठिन समयमा पनि जनताले पाउने सेवासुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।