काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १३२ एम्पुल, बुप्रेनोर्फिन १३२ एम्पुल र प्रोमेथाजाइन १३२ एम्पुलसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–२९ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ६० वर्षीय रामसिंह साउद र उनकै छोरा २८ वर्षीय हेमन्त साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१८ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट भासी र नौलाखेतबाट खटिएको प्रहरीले राम सिंहको घर तलासी गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया