काठमाण्डु – लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजना निर्माणका लागि लगानी गर्ने सम्झौता गरेका छन् ।
सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने अर्धजलासययुक्त आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ छ, जसमा ७० प्रतिशत सहवित्तीयकरणमार्फत र बाँकी ३० प्रतिशत कम्पनीका संस्थापकहरूको लगानी रहनेछ ।
सहवित्तीयकरणमा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा एभरेष्ट बैंक सहअगुवा बैंक तथा सानिमा बैंक सदस्य बैंकका रूपमा सहभागी भएका छन् । कुल परियोजना वित्त रकम १० अर्ब ५० करोड रहनेछ ।
दुधकोशी हाइड्रोपावर नेपाल प्रालिले प्रवर्द्धन गर्ने आयोजनाले २०७७ असोज ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाइसकेको छ भने २०७८ मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) समेत सम्पन्न गरिसकेको छ ।
आयोजनाका मुख्य प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराईसहित विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल छन् ।
परियोजना २०२९ जुलाईभित्र सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य छ । सो पश्चात वार्षिक करीब ४१७ गिगावाट आवर विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुनेछ । आयोजनाले नेपालमा नवीकरणीय ऊर्जा उत्पादन र आपूर्तिमा महत्वपूर्ण योगदान दिने तथा देशकै ठूला स्वतन्त्र उर्जा उत्पादक (आईपीपी) मध्ये एक बन्ने बताइएको छ ।




प्रतिक्रिया